काठमाडौँ । आज मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दिएको जानकारीअनुसार उक्त हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित रूपमा अवतरण गरेको भेटिएको छ।
क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ कलसाइनको उक्त हेलिकप्टर लाप्चाको हिमाली क्षेत्रमा सुरक्षित भेटिएको हो। लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वी भागमा पर्छ। हेलिकप्टरमा चालक दलका सदस्यसहित कुल ५ जना सवार थिए र उनीहरू सबै जना सकुशल रहेको कम्पनीले पुष्टि गरेको छ।
प्रबन्ध निर्देशक लामिछानेका अनुसार आज मौसम र प्राविधिक कारणले लाप्चामै रहने उक्त हेलिकप्टर भोलि मात्र काठमाडौँ फर्किने तय भएको छ। हेलिकप्टर सम्पर्कविहीन भएपछि केही समय उड्डयन क्षेत्र र आफन्तहरूमा चिन्ता छाए पनि सुरक्षित अवतरणको खबरले सबैलाई राहत दिएको छ।