arrow

सोविता गौतमको काँधमा कानून सुधारको जिम्मा [जीवनीसँगै फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
sobita-gautam-law-minister (5).jpeg

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पुर्याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन् । विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छिन् । सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनका बुबा कृष्णप्रसाद गौतम आमा र एक भाइ हुन् ।
 
शिक्षातर्फ रुची राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेकी थिइन् । त्यसपछि उनले कानून विषयमा स्नातक पूरा गरेकी छिन् भने हाल काठमाडौँ स्कूल अफ लमा एलएलएम अध्ययनरत छिन् ।
 
 राजनीतिमा प्रवेशअघि नै कानून, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् । कानूनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानूनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग रहेको छ ।
 
त्यस्तै राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधार एजेन्डालाई संसद्मै उठाउने अनुभव उनमा छ । कानून, न्याय तथा मानव अधिकार समितिमा पूर्व सदस्यका रुपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानूनी परामर्श अनुभवका साथै नेपालका युवा संस्थाको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी र नीति दबाबमा सक्षम नेतृत्व उनले देखाएकी छिन् । 
 
उनले अन्तर्राष्ट्रिय तहमा आफ्नो पहिचान बनाउँदै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय सङ्घको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिएकी छिन् । सार्वजनिक स्वास्थ्यका सम्बन्धमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उनको सक्रियता उल्लेखनीय छ ।
 
युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्ने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिन्छिन् । निर्वाचनका क्रममा उनले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिइन् ।
 
राजनीतिमा प्रवेश गर्नुअघि उनी सञ्चार क्षेत्रमा पनि परिचित थिइन् । विशेषगरी स्वास्थ्य कार्यक्रमको प्रस्तोताका रूपमा उनले तथ्यमा आधारित बहस, गलत सूचनाविरुद्ध अभियान तथा जनचेतनामूलक कार्यक्रममार्फत उहाँले समाजमा सकारात्मक प्रभाव पारेकी थिइन् ।
 
सन् २०२३ मा ‘वन यङ वल्र्ड–पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भएकी छिन् ।

रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक–केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्छिन् ।
 
नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ । समृद्ध नेपाल निर्माणमा युवाको भूमिका विस्तार गर्ने लक्ष्यसहित उनी संसद्मा सक्रिय रहेकी छिन् । 

sobita-gautam-law-minister (3).jpeg
sobita-gautam-law-minister (4).jpeg
sobita-gautam-law-minister (5).jpeg
sobita-gautam-law-minister (6).jpeg
sobita-gautam-law-minister (7).jpeg
sobita-gautam-law-minister (8).jpeg
sobita-gautam-law-minister (9).jpeg
sobita-gautam-law-minister (10).jpeg
sobita-gautam-law-minister (11).jpeg
sobita-gautam-law-minister (12).jpeg
sobita-gautam-law-minister (13).jpeg
sobita-gautam-law-minister (14).jpeg
sobita-gautam-law-minister (15).jpeg
sobita-gautam-law-minister (1).jpeg
sobita-gautam-law-minister (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ