मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव: देशभर श्रद्धापूर्वक रामनवमी मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
706
Shares
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने 'रामनवमी' पर्व आज देशभर भगवान् श्री रामचन्द्रको पूजा-आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्याका सुपुत्रका रूपमा विष्णुको सातौँ अवतारका रूपमा श्रीरामको जन्म आजकै दिन भएको धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार रामनवमी मनाउनुको मुख्य अर्थ रामजस्तै मर्यादित र अनुशासित शासन व्यवस्थाको आशा गर्नु हो। "रामको राज्यमा जसरी मानिसहरू खुसी र अनुशासित थिए, आजका शासक र जनताले पनि त्यस्तै बन्न सके मात्र यो पर्व मनाउनुको सार्थकता हुन्छ," उनले भने। शास्त्रमा रामलाई 'मर्यादा पुरुषोत्तम' भनिएको छ, जसले अधर्म र राक्षसी प्रवृत्तिको अन्त्य गरी सत्यको मार्ग देखाएका थिए।
'व्रतार्क' नामक ग्रन्थका अनुसार आजको दिन व्रत बसी श्रीरामको पूजा, जप र ध्यान गर्नाले अनेक जन्मका पाप नाश भई बैकुण्ठ बास प्राप्त हुने उल्लेख छ। त्रेतायुगमा श्रीरामको जन्म हुँदा पाँच ग्रहहरू (सूर्य, मङ्गल, गुरु, शुक्र र शनि) एकसाथ रहेको दुर्लभ योग परेको मानिन्छ। आजको दिन पवित्र नदी र कुण्डहरूमा स्नान गरी रामायण वाचन गर्ने र रातभर भजनकीर्तन गर्ने परम्परा छ।
रामनवमीका अवसरमा नेपालको जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिर र भारतको अयोध्यामा विशेष मेला लाग्ने गर्दछ। जनकपुरमा नेपाल तथा भारतका हजारौँ श्रद्धालुहरूको घुइँचो लागेको छ। जनकपुरमा रामलीला प्रदर्शन गर्ने र भगवान् राम र सीताको विशेष पूजा गर्ने चलन छ।