खोटाङ । धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला शुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।
रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।
हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिए । “रामनवमीको अघिल्लो रात जाग्राम बस्ने चलन छ । आज पञ्चेबाजासहित गहना लगेर महादेव पहिर्याउने गरिन्छ”, उनले भने ।
काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने दर्शनार्थीको सङ्ख्या बढेको हो । मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न जिल्लास्थित तीनवटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए ।