केपी ओलीको प्रतिवाद: ‘कार्की आयोगको सिफारिस कानूनी रूपमा चल्नै नसक्ने खेल हो’ [भिडियो]
ओली भन्छन्: मैले गोली चलाएको हो र छानबिन गर्नलाई ?
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
1k
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘जेन–जी’ आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनप्रति कडा आपत्ति जनाउँदै यसलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिएका छन्। आयोगले फौजदारी अपराध दण्डसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार आफूमाथि छानबिन गर्न गरेको सिफारिसलाई उनले कानूनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ बताए।
अध्यक्ष ओलीले कानूनी तर्क प्रस्तुत गर्दै ती दफाहरू आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमै उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा उसैबाट भएको हुनुपर्ने स्पष्ट पारे। "प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ, न त आफैँले गोली चलाउँछ," उनले भने, "जो मान्छे घटनास्थलमा उपस्थित नै छैन, उसको लापरवाही भन्ने कुरै हुँदैन। यो केवल एमालेविरुद्ध विष ओकल्ने पूर्वाग्रही व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन हो।"
ओलीले न्यायाधीश र प्रहरीका उच्च ओहदामा बसेर आएका व्यक्तिहरूले यस्तो अपरिपक्व सिफारिस गर्नुलाई आश्चर्यजनक र निन्दनीय बताए। उनले थपे, "हाम्रो नाम त्यहाँ उल्लेख गर्नु भनेको चरम पूर्वाग्रह हो। कतै केही नभेटेपछि बलजफ्ती दफाहरू ठुँसेर बदनाम गर्ने र चरित्र हत्या गर्ने प्रयास गरिएको छ। यो घृणाको राजनीतिको अर्को भद्दा प्रकटीकरण मात्रै हो।"
यसअघि सार्वजनिक भएको भनिएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखमाथि लापरवाहीको आरोप लगाउँदै छानबिनका लागि सिफारिस गरिएको उल्लेख थियो। एमालेले यसलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको छ र यसले कानूनी र राजनीतिक दुवै क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ।