भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने यातायात व्यवसायी महासंघको चेतावनी [विज्ञप्ति]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
569
Shares
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्य वृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ ।
महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि लागू हुने गरी डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघका अनुसार मूल्यवृद्धिपछि तत्काल भाडा समायोजनको माग गर्दै सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरिएको छ ।
यसैबीच यातायात व्यवस्था विभागले पनि भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।
विभागले २०६५ सालदेखि लागू वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ ओटा सूचकका आधारमा यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, तराई मालवाहकतर्फ ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशत भाडा वृद्धि गर्नुपर्ने सिफारिस गरेको जनाएको छ ।
महासंघले २०७२ सालदेखि भाडा समायोजन नभएको भन्दै हाल व्यवसायीहरूले दैनिक लाखौँ रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहेको उल्लेख गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले सरकारबाट छिटो निर्णय नआए सेवा बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।
उनले विभागको सिफारिसअनुसार स्वघोषणा गरी भाडा समायोजन गरेर सेवा सञ्चालन गर्ने विकल्पसमेत खुला राखिएको बताए ।
महासंघले यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने चेतावनी दिएको छ ।