यस पटकको निर्वाचन इतिहासकै शान्तिपूर्ण र विवादरहित : आयोग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
667
Shares
काठमाडौँ । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण, निष्पक्ष र विवादरहित निर्वाचनको रूपमा मूल्याङ्कन गरेको छ।
बुधवार आयोगद्वारा आयोजित जलपान समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रमा कुनै झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको उल्लेख गर्दै निर्वाचन सफल भएको बताए।
उनले राजनीतिक दल, उम्मेद्वार र मतदाताद्वारा देखाइएको संयमको प्रशंसा गरे।
भण्डारीका अनुसार, जेन-जी आन्दोलन भएको छ महिनाभित्रै निर्वाचन सम्पन्न हुनु अन्तर्राष्ट्रिय समुदायले पनि सकारात्मक रूपमा लिएको छ।
निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै उच्च मूल्यांकन गरेका छन्।
उनले भने, “राजनीतिक दल, उम्मेदवार र मतदाताबाट अभूतपूर्व संयम र सद्भाव प्रदर्शन भई ऐतिहासिक रूपमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ। विगतका निर्वाचनमा देखिने आचारसंहिता उल्लङ्घन, उम्मेद्वार योग्यता विवाद र सुरक्षा चुनौती यसपटक देखा परेन।”
आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवादसमेत ज्ञापन गरे ।