निष्पक्ष र पारदर्शी रूपले सभामुखको भूमिका निर्वाह गर्छु : अर्जुननरसिंह केसी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
751
Shares
काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा कार्यकालमा संसद्लाई निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गरेपछि यसो भनेका हुन् ।
उनले सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने बताए ।
उनले भने, ‘मेरो सीमित समयभित्र निष्पक्ष र पारदर्शी रूपले सभामुखको भूमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ । र, संसदभित्र सबै सांसदहरुको विशेषाधिकारको संरक्षकको रुपमा पनि भूमिका निर्वाह गर्नुपर्छ ।’
नयाँ सभामुखको निर्वाचन नभएसम्मका लागि केसीले बैठक सञ्चालन र संसदको अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन् ।