मिथिलाञ्चलमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
589
Shares
काठमाडौँ । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै वासन्ती (चैती) छठ पर्व उल्लासपूर्वक सम्पन्न भएको छ। मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई 'सझुका अरख' दिएका बर्तालुले आज बुधबार बिहान सूर्योदयसँगै 'भोरका अरख' दिएर चार दिने लामो व्रत पूरा गरेका हुन्।
वसन्त ऋतु र चैत शुक्ल पक्षमा मनाइने भएकाले यसलाई 'वासन्ती' वा 'चैती' छठ भन्ने गरिएको ७५ वर्षीय रामअयोध्या साहले बताए। गत आइतबार 'नहाय–खाय' बाट सुरु भएको यो पर्व सोमबार 'खरना' र मङ्गलबार निराहार व्रतसहित अस्ताउँदो सूर्यको उपासना गरी मनाइएको थियो। आज सप्तमी तिथिका दिन बिहान पवित्र जलाशयमा कम्मरसम्म डुबेर सूर्यदेवलाई ठकुवा, भुसुवा (कसार) र फलफूलका प्रसाद सामग्री अर्पण गरी व्रतको समापन गरिएको छ।
यो पर्वमा विशेषगरी शुद्धता र निष्ठालाई निकै महत्त्व दिइन्छ। व्रतको पहिलो दिन लसुन, प्याज र कोदो वर्जित गरी अरवा चामलको भात खाइन्छ, जसलाई 'अर्बाअर्बाइन' भनिन्छ। दोस्रो दिन 'खरना' मा दिनभर उपवास बसेर राति सख्खरको खीर खाएपछि निराहार व्रत सुरु हुने बर्तालुहरूले बताए।
शरद् (कात्तिक) र वसन्त (चैत) गरी वर्षमा दुई पटक मनाइने यो पर्व सूर्य र उनकी पत्नी षष्ठीको उपासनाको रूपमा लिइन्छ। द्वापर युगमा श्रीकृष्णका पुत्र साम्बले कुष्ठरोग निवारणका लागि सूर्यको आराधना गरेको समयदेखि नै यो पर्वको प्रारम्भ भएको जनश्रुति रहेको पाका मैथिलहरूले बताए। यो व्रत बस्नाले छालाजन्य रोग नलाग्ने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।