arrow

छठ पर्वको समापन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
chhat-puja-082.jpg

काठमाडौँ। दिनभर निराहार बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै यस बर्षकाे छठ पर्व मनाइएको छ । मिथिलाका सबै घाटमा बर्तालुहरूले प्रसाद तथा पूजा सामग्री लिएर दिनभर सपरिवार भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठ पर्व मनाएका हुन् । 

गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने महापर्व छठ उत्सवको साेमबार षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो ।

छठ पर्व मनाउनका लागि सम्पूर्ण मिथिलावासी आआफ्ना घरमा गुलियो परिकार ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ढकियामा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाट पुगेका थिए ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता छ । 

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

यस पर्वको पहिलोदिन बर्तालुहरूले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् । दोस्रो दिन खरना मनाइएको थियो ।

खरनाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए भने राति अरवा अरबाईन (बिना नुनको) खानेकुरा खाएका थिए ।

यस पर्वलाई बर्तालुहरूले मङ्गलबार बिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पन गरेको क्रम दोहोर्‍याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन् ।

संघीय सरकारले सोमबार सार्वजनिक बिदा दिएको थियो । यता मधेस सरकारले भने मंगलबार पनि बिदा दिएको छ । लगाएको प्रसाद आफन्त नातेदारकहाँसमेत पुर्याउने चलन भएसँगै मधेस सरकारले मंगलबार पनि बिदा दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ