पैतालीस प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेन : डा देवकोटा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
599
Shares
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताएका छन् ।
मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले क्षयरोग उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गरेका हुन् ।
उनका अनुसार समाजमा अझैपनि केही स्तरमा भेदभाव कायम रहनुका साथै स्वास्थ्य क्षेत्रबाहिरका सरोकारवालाहरूको भूमिका पर्याप्त रूपमा समेट्न नसकिएको अवस्था छ ।
उनले भने, ‘क्षयरोग रोग उपचार गरेर निको हुने रोग हुँदाहुँदै केही कारणले डिस्क्रिमिनेसन हुनसक्छ । सायद स्वास्थ्य भन्दा बाहिरी क्षेत्रले गर्नुपर्ने काम पनि धेरै होलान । जुन हामीले समेट्न सकेका छैनौं । सायद हाम्रा प्रयासहरु अझै नपुगेको होला ।’
देवकोटाका अनुसार नेपालमा वार्षिक करिब ६९-७० हजार क्षयरोगी अनुमान गरिए पनि तीमध्ये झण्डै ४५ प्रतिशत बिरामी अझै पहिचान बाहिर छन् ।
बिरामी पहिचानका लागि विभिन्न नयाँ विधि अपनाइएको उल्लेख गर्दै उनले घरघरमै पुग्ने कार्यक्रम (हाउसहोल्ड सर्वे) सञ्चालनमा रहेको जानकारी दिए ।
‘नेपालमा ४५ प्रतिशत स्टिमेट गरेका छौँ। ६९-७० हजारको हाराहारीमा अर्थात ४५ प्रतिशत जति हामीले पहिचान गर्नै सकेका छैनौँ । पहिचान गर्ने तरिकाहरू हामीले प्रयोगमा ल्याइरहेका छौँ। विभिन्न हाउसहोल्ड कार्यक्रम पनि छन्,’ उनले भने ।
त्यसैगरी, छिटो र प्रभावकारी पहिचानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी एक्सरे परीक्षणलाई समेत विस्तार गरिएको उनले बताए ।
यसका लागि आवश्यक बजेटसमेत उपलब्ध रहेको र यसै वर्षदेखि कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइने उनको भनाइ छ ।
उनले विगतका सर्वेक्षणहरूले पनि अपेक्षित सुधार नदेखाएको उल्लेख गर्दै समस्या कहाँ भइरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।
‘हामीले जति अनुमान गरेका छौँ, वास्तवमै त्यति नै केस छन् कि हामीले पहिचान गर्न नसकेको हो भन्नेमा स्पष्ट हुन जरुरी छ,’ उनले भने ।
घरमै बसेर अस्पताल नआउने प्रवृत्ति पनि बिरामी पहिचानमा चुनौती बनेको उनले औंल्याए ।