arrow

ग्यास अभावले होटलहरू बन्द हुन थालेपछि नेपाली मजदुर धमाधम स्वदेश फर्किँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
oil-corporation-nepal-gas-82-10-28 (7).jpeg

काठमाडौँ । भारतका विभिन्न सहरमा रहेका होटल तथा व्यवसायमा मजदुरी गर्ने नेपालीहरू खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन्। पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएपछि भारतमा इन्धन र ग्यास वितरणमा कडाइ गरिएको छ, जसको प्रत्यक्ष मारमा नेपाली श्रमिकहरू परेका छन्।

कैलालीको नेपाल-भारत सीमानाका त्रिनगरमा भेटिएका डोटीका रोशन खड्काले आफू कार्यरत होटल ग्यास अभावले बन्द हुने अवस्थामा पुगेपछि घर फर्किएको बताए। मुम्बईबाट फर्किएका उनले भने, “होटलमा खाने-बस्ने सुविधा थियो, तर ग्यास नभएर व्यवसाय नै ठप्प हुने भएपछि बेरोजगार बस्नुभन्दा स्वदेश फर्किएँ।”

अर्का मजदुर विजय विकले ग्यास अभावले काम नपाएको र 'बिसु' (नयाँ वर्ष) पर्व पनि नजिकिएकाले यस वर्ष छिटो घर फर्किनुपरेको बताए। सुदूरपश्चिममा नयाँ वर्षको आरम्भका रूपमा मनाइने बिसु पर्वका लागि चैत अन्तिममा आउने सोच बनाएका धेरै नेपाली अहिले काम छुटेकै कारण चैतको सुरुवातमै फर्किएका छन्।

भारतको पुनामा कार्यरत डोटीका महेश भट्टका अनुसार होटल क्षेत्रमा काम गर्ने नेपालीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। उनले भने, “ग्यास अभावले होटल चल्न छाडेका छन्, जसले गर्दा ठुलो सङ्ख्यामा नेपालीहरू बेरोजगार हुने अवस्था छ।”

भारतबाट फर्किनेहरूले त्यहाँ इन्धनको हाहाकार रहेको बताए पनि कैलाली र कञ्चनपुरका बजारमा भने अहिलेसम्म ग्यासको अभाव नरहेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख लक्ष्मीप्रसाद जैशीले बजार अनुगमनका क्रममा हालसम्म आपूर्ति सहज रहेको जानकारी दिए।

उनले भने, “डिजेल र पेट्रोलको आपूर्ति आजसम्म सहज छ। सरकारी नीति बमोजिम अहिले सबैतिर आधा सिलिन्डर ग्यास बिक्री भइरहेको छ, जसले गर्दा सर्वसाधारणलाई खाना पकाउन समस्या परेको छैन।” टोलीले धनगढी, टीकापुर, लम्की, अत्तरिया र कञ्चनपुरका विभिन्न क्षेत्रमा नियमित अनुगमन गरिरहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ