स्थानीय निकायलाई सांसदको संविधान विपरीत निर्देशन, हस्तक्षेप नमान्ने घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
967
Shares
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित सांसदले संसदमा पाइला टेक्नुअघि नै स्थानीय निकायलाई निर्देशन दिन थालेपछि समस्या पैदा हुने देखिएको छ ।
संविधान विपरीत नै सांसदले शपथ खानुअघि नै रवाफ देखाउन खोजेपछि धादिङमा समस्या देखिएको हो । केही दिनअघि धादिङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रास्वपाकी आशिका तामाङले संविधान विपरीत निर्देशन दिएको भन्दै धादिङका पालिकाहरूले विरोध जनाएका हुन् ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले सांसदहरूबाट हुने हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार गरेको निष्कर्ष निकाल्दै यसको विरुद्धमा उभिने निर्णयसमेत गरेको छ।
जिल्लाका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले कानून विपरीत दिने निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने घोषणा गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा स्थानीय तहका जनप्रतिनिधिहरूले नवनिर्वाचित सांसदहरूबाट संविधान र कानूनको भावना विपरीत विभिन्न निर्देशनहरूप्रति गम्भीर आपत्ति जनाइएको छ ।
सांसदको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय धादिङमार्फत पत्र आएको भन्दै स्थानीय सरकारको संवैधानिक अधिकारमाथि अङ्कुश लगाउने प्रयास भएको स्थानीय निकायहरूको बुझाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नवनिर्वाचित माननीयज्यूहरूका नामबाट संविधान एवं कानून विपरीत जारी भएका निर्देशनहरू र प्रशासनमार्फत स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्यको यो बैठक कडा प्रतिवाद गर्दछ ।’
रास्वपाले मंगलबार र बुधबार गरी दुई दिन आफ्नो पार्टीका सबै सांसदलाई अभिमुखीकरण तालिम दिएको छ । त्यसअघि नै सांसदहरूले आफ्नो हैकम जमाउन खोजेको आरोप छ ।
साथै संसदमा बोल्दा सभ्य एवं अनुशासित भएर बोल्नसमेत पनि निर्देशन पार्टीपंक्तिले दिएको छ ।
यसपालि संसदमा नयाँ सांसदहरू धेरै भएका कारण प्रक्रियामा समस्या नहोस् भनी रास्वपाले अभिमुखीकरण दिएको हो ।