arrow

जनआकांक्षा र सुशासनमा केन्द्रित भएर काम गर्ने रास्वपा सांसदहरूको बाचा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
rsp-samsad-aashika.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूले जनअपेक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर आफूहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

बुधबार पार्टीका सांसदहरूको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका उनीहरूले जनताको आकांक्षालाई सम्बोधन गर्ने र भ्रष्टाचारमुक्त मुलुक बनाउने कुरालाई आफूहरुले प्राथमिकताका साथ अघि बढाउने योजना अघि सारेका हुन् ।

सांसद हरि ढकालले सुशासनका लागि मुहान नै सफा गरेर अघि बढने संकल्प आफूहरूले लिएको बताए । उनले जनताको अपेक्षा पूरा गर्न पनि आफूहरूले धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए।

सांसद ढकालले भने, ‘सबै भन्दा मुख्य कुरा मुहान हो। मुहान सफा भए पछाडि नै तल सङ्लिने हो । सुशासनको मुख्य एजेण्डामा काम गर्नुछ । त्यसका लागि काम गर्न स्पष्ट जनमत पुगेको छ । जनअपेक्षा र सुशासनका लागि मुख्यतया मुहान देखिकै काम हुन्छ । मुहानदेखि नै काम भएपछि तल सङलो भइहाल्छ ।’

यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै सांसद भएकी भूमीका श्रेष्ठले पछाडि पारिएका सबै समुदायको हित प्रवर्द्धनमा आफूले काम गर्ने बताइन्। उनले अल्पसंख्यक समुदायको आवाजलाई आफूले संसदबाट मुखरित गर्ने योजना पनि सार्वजनिक गरिन्।

सांसद श्रेष्ठले भनिन्, ‘नेपालमा जहिले पनि लंैगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई उपेक्षा गरिएको छ । यो पछाडि पारिएको वर्ग हो । अहिले जुन तरिकाले राष्ट्रिय स्वतन्त्र पार्टीले समावेशिता र समताको एउटा मूल धारलाई अगाडि ल्याउन कोसिस गरेको छ । त्यसको एउटा ज्वलन्त उदाहरण म बन्न गएको छु । पार्टी पदाधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु । संसदमा मेरो एजेण्डा भनेको म जस्तो लैगिक तथा यौनिक अल्पसंख्यक समुदायको आवाज, नागरिकका  स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक न्यायको विषयमा भएको विभेदहरूको न्यूनीकरण गर्न, अन्त्य गर्न मेरो मुख्य एजेण्डा हुनेछ ।’

आफूहरूको पाँच वर्षे कार्यकाल मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रित हुने सांसद आशिका तामाङको भनाइ छ । उनले भ्रष्टाचारको अन्त्य मात्रै भए मुलुकले ठूलो फडको मार्ने जिकिरसमेत गरिन्।

सांसद तामाङले भनिन्, ‘अब आउने दिनमा भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापना गर्ने भनेर हामी आएका हौँ । यो नभइ यो पाँच वर्षको कार्यकालमा हामीले भ्रष्टाचार मात्रै अन्त्य गर्न सक्यौँ भने देशले छल्याङ मार्छ ।’ 

सांसद सागर ढकालले पार्टीले निर्वाचनको बेला सार्वजनिक गरेको वाचा पत्र कार्यान्वयनमा आफूले जोड दिने बताए। उनले जनताका सानासाना आकांक्षालाई पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि बताए। 

सांसद ढकालले भने, ‘हाम्रो पहिलो रणनीति सानासाना कुराहरुलाई, सानासाना जनताका आकांक्षा छन् । तिनलाई पूरा गर्दै हामी ठूलो भिजिनरी रुपमा देशलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा हामी सचेत छौँ । देशलाई अघि बढाउने विषयमा स्पष्ट रुपमा हाम्रा बाचा पत्रहरुमा उल्लेख गरिएका छन् । यो बाचा पत्रलाई हामीले जमिनमा टेकाउनुपर्नेछ । त्यसका लागि हामी काम गरिरहेका छौँ ।’

सांसद ढकालले मुलुकलाई अघि बढाउने ठूलो योजनाहरूमा पनि आफूहरूले काम गर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ