ट्रम्पले भने- इरानसँगको युद्ध यो साता सकिने सम्भावना छैन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
2.1k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताएका छन्। ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले द्वन्द्व चाँडै टुङ्गिने दाबी गरे पनि तत्कालै युद्धविराम हुने संकेत भने नदेखिएको स्पष्ट पारे।
पत्रकारहरूको जिज्ञासामा ट्रम्पले भने, "मलाई लाग्दैन कि युद्ध यसै साता सकिन्छ, तर यो धेरै समय लम्बिँदैन। यो छिट्टै अन्त्य हुनेछ।" गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेयता मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ।
राष्ट्रपति ट्रम्पले विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने रणनीतिक मार्ग होर्मुज जलडमरूमध्य बाट गुड्ने जहाजहरूको सुरक्षाका लागि अमेरिकी नेतृत्वमा बन्न लागेको गठबन्धनबारे पनि चर्चा गरे। उनले यस गठबन्धनमा सहभागी हुन सहमत भएका देशहरूको नाम चाँडै घोषणा गर्ने बताए।
यद्यपि, धेरै युरोपेली र अमेरिकी सहयोगी देशहरूले यो सैन्य गठबन्धनमा सामेल हुन अनिच्छा देखाएका छन्। ट्रम्पले सहयोगी राष्ट्रहरूको यस्तो व्यवहारको आलोचना समेत गरेका छन्।
युरोपेली सङ्घकी शीर्ष कूटनीतिज्ञ काया कालासले ब्रसेल्समा बोल्दै युरोपलाई लामो समयसम्म चल्ने युद्धमा कुनै रुचि नभएको स्पष्ट पारेकी छिन्। यो युरोपको प्रत्यक्ष युद्ध नभए पनि यसको बाछिटाले युरोपेली हित र अर्थतन्त्रमा गम्भीर असर पुर्याउने उनले बताइन्।
फेब्रुअरी २८ देखि सुरु भएको यो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्गमा ढुवानी अवरुद्ध भएको छ, जसले गर्दा विश्व बजारमा तेलको मूल्य आकाशिएको छ र विश्व अर्थतन्त्रमा अस्थिरता बढेको छ।