मध्यपूर्वमा मानवीय संकट गहिरिँदो: आठ लाखभन्दा बढी विस्थापित, स्वास्थ्य सेवा र पूर्वाधारमा गम्भीर क्षति
गाजादेखि लेबनानसम्म श्मशान जस्तै सन्नाटा, फोहोर जलाएर खाना पकाउन बाध्य छन् युद्धपिडित
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
2k
Shares
काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको लडाइँले त्यहाँका सोझा जनता र भौतिक संरचनामा असाध्यै ठूलो चोट पुर्याएको छ। संयुक्त राष्ट्रसङ्घले त्यहाँ मानवीय सङ्कट झन्-झन् गहिरिँदै गएको भन्दै संसारभरलाई नै सावधान गराएको छ। संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला हेर्ने कार्यालयले इरान र लेबनानका अस्पताल र स्वास्थ्य सेवाहरूमा धेरै क्षति पुगेको कुरा बताएको छ।
इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा मात्रै २३० भन्दा बढी स्वास्थ्य संस्था र ३० वटा जति एम्बुलेन्सहरू काम नलाग्ने गरी फुटाइएका छन्। त्यहाँ कतिपय स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् भने कोही नराम्ररी घाइते भएका छन्। उता लेबनानमा पनि पछिल्लो दुई हप्तामा स्वास्थ्य सेवामाथि २८ पटक हमला भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यी हमलामा परेर कम्तीमा ३० जनाले ज्यान गुमाएका छन्।
लेबनानको दक्षिणी भेगबाट ८ लाख ३० हजारभन्दा धेरै मानिस आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन्। यसरी विस्थापित हुनेहरूमा झन्डै २ लाख ९० हजार त साना बालबालिका मात्रै रहेको सरकारी तथ्याङ्कले बताए। गाजाको अवस्था त झन् सोच्नै नसकिने गरी बिग्रिएको छ। त्यहाँ धुलोको ठूलो आँधी चल्दा आश्रय लिएर बसेका सयौँ टेन्टहरू उडाएका छन्, जसले गर्दा हजारौँ मानिस खुला आकाशमुनि सुत्न विवश छन्।
खानेकुराको अभाव यतिसम्म बढेको छ कि गाजाका धेरै परिवारले खाना पकाउनका लागि फोहोर जलाउनुपर्ने अवस्था आएको विश्व खाद्य कार्यक्रमले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न संस्थाहरूले अहिले ८ लाखभन्दा बढी मानिसलाई तातो खाना र सुत्ने ओछ्यानहरू बाँडिरहेका छन्। राष्ट्रसङ्घले गाजामा खाना पकाउने ग्यास र अरू खाद्यान्न लैजान दिन अन्तर्राष्ट्रिय समुदायलाई गुहार मागेको कुरा सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ ।