arrow

महँगी र अभावले निर्माण क्षेत्रमा 'ब्रेक': निर्माण व्यवसायीले गरे 'कन्स्ट्रक्सन होलिडे' को माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
ravi-shing.jpg

काठमाडौँ । निर्माण सामग्री, इन्धन र ग्यासको चर्को अभाव तथा अचाक्ली मूल्यवृद्धिका कारण देशको निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आन्तरिक राजनीतिक अस्थिरता र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको बताए।

अध्यक्ष सिंहका अनुसार सरकारको ध्यान निर्वाचनमा मात्र केन्द्रित हुँदा विकास निर्माणका कामहरू ओझेलमा परेका छन्। हालसम्म देशको पुँजीगत (विकास) खर्च करिब १९ प्रतिशत मात्रै हुनुले सरकारको निराशाजनक प्रगति झल्काउँछ। अर्थ मन्त्रालयले साधारण खर्च धान्न समेत मुस्किल परिरहेको अवस्थामा विकासे मन्त्रालयहरूको बजेट कटौती गर्ने प्रयास गरिरहेको अनुभव व्यवसायीहरूले गरेको उनले बताए।

खाडी क्षेत्रमा अमेरिका र इरानबीच बढेको तनावले गर्दा विगत १४ दिनदेखि नेपालमा इन्धन आपूर्ति प्रभावित भएको छ। यसैको फाइदा उठाउँदै केही बिचौलिया र कमिसनखोर व्यवसायीले बिटुमिन जस्ता अत्यावश्यक सामग्री सस्तोमा किनेर महँगोमा बेच्दै कृत्रिम अभाव सिर्जना गरिरहेको आरोप सिंहले लगाए। डण्डी र इन्धनको मूल्य शतप्रतिशतसम्म वृद्धि हुँदा र २-३ महिनादेखि ग्यासको अभाव चुलिँदा मजदुरहरूलाई काममा लगाउनै नसकिने स्थिति आएको उनको दाबी छ।

प्रशासनले बोतलमा इन्धन बिक्री गर्न प्रतिबन्ध लगाएपछि साना निर्माण उपकरण चलाउन थप समस्या भएको व्यवसायीहरूको गुनासो छ। यस्तो जटिल र घाटाको परिस्थितिमा काम अघि बढाउन असम्भव भएको भन्दै महासंघले सरकारसँग 'निर्माण होलिडे' घोषणा गर्न माग गरेको छ। मूल्य समायोजन नभएसम्म र आपूर्ति सहज नभएसम्म काम रोक्नुपर्ने बाध्यता आइलागेको सिंहले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ