देशैभर हावाहुरीसहित वर्षा, कतै असिनाले चुट्यो कतै हावाहुरीले सतायो, काठमाडौँमा फाटफुट [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
990
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सक्रिय प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज कोशीदेखि सुदूरपश्चिमसम्मै मौसम बिग्रिएको छ ।
कतै हावाहुरीसहित वर्षा, कतै हावाहुरीमात्र, कतै असिना पानीसहित हावाहुरी आएको छ । कोशी क्षेत्रमा हावाहुरी बढी आएको छ भने पश्चिमी पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची र पाल्पा लगायतमा असिनापानीसँगै हावाहुरीले फलफूलहरूका फूल सबै झारेको छ ।
धेरै ठाउँमा असिना पानीले खेतीसमेत बिगारेको छ । खेतबारीमा रहेको जौँ गहुँलाई नोक्सान पारेको छ भने हावाहुरीसँगै परेको असिनापानीले सुन्तलाका पकेट क्षेत्रमा रहेका किसानलाई चिन्तित पारेको छ ।
गत वर्ष पनि यही समयमा हावाहुरीसहितको असिनापानीले बितण्डा मच्याएको थियो ।
काठमाडौँ उपत्यकामा भने हावाहुरीसहित हल्का वर्षा भएको छ । केही स्थानमा बढी पानी परे पनि केहीमा चर्को हावाहुरी र मेघगर्जनसहित हल्का वर्षासँगै असिना पनि परेको छ ।
कतै भने हावाहुरीमात्र आएको छ । गत असोजपछि काठमाडौँमा अझै खुलेर वर्षा हुन सकेको छैन ।
बिहान सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भएको थियो ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य पहाडी र हिमाली क्षेत्रमा वर्षा भएको थियो । त्यस्तै कोशी,बागमती प्रदेशको हिमाली क्षेत्रमा पनि वर्षा भएको थियो ।
राति कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै स्थान र अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
यता मुस्ताङमा पुनः हिमपात भएको छ । हिमपातसँगै कृषक तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, ठिनी लगायत जिल्लाका विभिन्न क्षेत्रमा हिमपात भएको हो । विशेषगरी मुक्तिनाथ क्षेत्र, ठिनी भ्यु टावर आसपास तथा उपल्लो मुस्ताङका क्षेत्रमा हिउँ अझै जमेको जनाइएको छ ।
हिमपातसँगै मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको जोमसोमका पर्यटन व्यवसायी निशान तुलाचनले बताए । उनका अनुसार हिमपातपछि मुस्ताङ आउने आन्तरिक पर्यटकको चहलपहल बढ्ने गर्दछ ।
यस वर्ष मुस्ताङमा चौथो पटक हिमपात भएको हो ।
तस्बिरः एउटा तस्बिर मुस्ताङ हिमपातको हो भने बाँकी काठमाडौँ उपत्यकाका हुन् ।