खार्ग टापुमा अमेरिकी सेनाको भीषण हमला, ९० भन्दा बढी सैन्य लक्ष्य ध्वस्त
ट्रम्पको चेतावनी: "अवरोध गरे इरानको तेल संरचनामा पनि प्रहार गर्नेछौँ"
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
2.1k
Shares
काठमाडौँ । अमेरिकी सेनाले शुक्रबार राति इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापुमा रहेका सैन्य अखडामा ठूलो हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय सैन्य कमाण्डका अनुसार खार्ग टापुमा रहेका ९० भन्दा बढी इरानी सैन्य लक्ष्यहरूलाई निशाना बनाएर यो कारबाही गरिएको हो।
आक्रमणका क्रममा नौसैनिक बारुद भण्डारण, क्षेप्यास्त्र बंकर र अन्य महत्वपूर्ण सैन्य संरचनाहरू नष्ट भएको दाबी गरिएको छ। इरानको करिब ९० प्रतिशत कच्चा तेल निर्यात हुने यस रणनीतिक टापुका तेलसम्बन्धी संरचनालाई भने अहिलेका लागि सुरक्षित राखिएको अमेरिकी सेनाले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सैन्य लक्ष्यहरू 'पूर्ण रूपमा नष्ट' भएको पुस्टि गर्दै चेतावनी दिएका छन्। उनले यदि इरानले हर्मुज जलडमरूमध्यमा जहाजको आवागमन अवरुद्ध गरेमा आगामी दिनमा खार्ग टापुका तेल संरचनाहरूलाई पनि निशाना बनाइने स्पष्ट पारेका छन्।
यता, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकालाई कडा जवाफ दिँदै आफ्नो तेल र ऊर्जा संयन्त्रमा क्षति पुर्याइएमा क्षेत्रीय स्तरमा रहेका अमेरिकी कम्पनीका संरचनाहरूमाथि प्रतिशोधपूर्ण आक्रमण गर्ने चेतावनी दिएका छन्।