केरा नेपालमा स्वास्थ्यका लागि अति महत्वपूर्ण पौष्टिक फल मानिन्छ । केरा खान, उपहार दिन, सांस्कृतिक र धार्मिक उद्धेश्यका लागिसमेत व्यापक रूपमा खपत हुने गरेको छ । नेपालमा दिनपरदिन केराको माग बढ्दै गैरहेको छ । बढ्दो केरा बजारले केरा खेतीलाई अत्यन्त लोकप्रिय बनाएको हुँदा यसको खेतीमा बढ्दो आकर्षण देखिएको हो ।
नेपालमा केरालाई उच्च नगदे बालीको रूपमा लिइन्छ । भू–बनोट र हावापानीका हिसाबले नेपालको तराई र मध्यपहाड केरा खेतीका लागि अनुकूल स्थानहरू हुन् । नेपालमा यसको उत्पादन झापा, सप्तरी, मोरङ, दाङ, चितवन र कैलाली जिल्लाहरुमा गर्ने गरिएको छ । सरकारको ”एक गाउँ, एक उत्पादन” जस्ता पहलहरुले विशेषगरी चितवनमा केरा खेती व्यवसायिक विकासमा सहयोग पुगेको छ ।
कृषि विभागका अनुसार नेपालमा प्रतिहेक्टर १३.२ टन केरा उत्पादन हुने गरेको छ भने देशको कूल ७७ जिल्लामध्ये ६८ जिल्लामा केरा खेती हुँदै आएको पाइन्छ । मुसा नेपालेन्सिस, मुसा सिक्किमेन्सिस जस्ता स्थानीय प्रजातिहरु हिमालय क्षेत्र वा उच्च जलवायु भएका क्षेत्रमा पाइने प्रजातिहरु हुन् ।
नेपालको हिमाली क्षेत्रमा न्यून मात्रामा केरा खेती गरिन्छ । सन् २०१९ को आँकडा अनुसार नेपालमा करिव १६,६१५ हेक्टरमा केरा खेती गरिएको पाइन्छ । किसानहरु कृषिको अरु क्षेत्रहरु भन्दा केराखेतीमा आम्दानीको राम्रो सम्भावना देख्दैछन् । दिनपरदिन केरा खेती गरिएको जमीन उल्लेखनीय वृद्धि भएको कारणले यो कुराको पुष्टि हुन्छ ।
प्रयोग, फाइदा र पोषणः
केरामा पाइने भिटामिन र खनिजले मानिसको स्वास्थ्यका लागि आवश्यक पोषकतत्व उपलव्ध गराउँछ । यसको पौष्टिक महत्वका कारण यसलाई विभिन्न किसिमले खानामा प्रयोग गर्ने गरिएको छ । पाकेको र काँचो केराबाट धेरै किसिमका परिकार बनाउन सकिन्छ । पाकेको केरा स्वादिष्ट र पौष्टिक फलको रूपमा प्रयोग गरिन्छ । काँचो तथा पाकेको फल प्रशोधनपछि चिप्स, चक्लेट, जाम, जूस, पाउडर र रक्सी आदि बनाउन सकिन्छ । अफ्रिकी महादेशका केही मुलुकहरुमा केरा मुख्य खानाको रूपमा उपयोग गरिन्छ ।
केराको रेसाबाट कपडा, टिस्युपेपर, कार्डबोर्ड आदि बनाइन्छ । केराको डाँठ, पात, गाइवस्तुलाई खुवाउन सकिन्छ । केराको पात र बोट हाम्रा विवाह महोत्सव, चाडपर्वहरु र पूजाहरुमा समेत प्रयोग भइरहेका छन् । मानिसको शरीरलाई चाहिने सवैजसो पौष्टिक तत्वहरु केरामा पाइन्छन् । साधाणतया पाकेको केरामा ७० प्रतिशत पानी, २७ प्रतिशत कार्वोहाइडट, १२ प्रतिशत प्रोटिन लगायत भिटामिन ए., बी. र सी. समेत पाइन्छ । अरु खनिज पदार्थ जस्तै फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फलाम आदि पनि केराको फलमा पाइन्छ । ३० ग्राम केराबाट ५० क्यालोरी शक्ति प्राप्त हुन्छ । केराको नियमित प्रयोग मुटुका लागि लाभदायक मानिन्छ ।
केरामा पाइने भिटामिन ए ले आँखाको दृष्टि र शरीरको प्रतिरक्षा प्रणालीमा योगदान गर्दछ । यसमा हुने भिटामिन बी ६ (पाइरिडोक्सिन) ले मस्तिष्क विकासलाई सहयोग पुर्याउँछ । यसमा हुने भिटामिन सीले छालालाई राम्रो गर्दछ । यसमा हुने भिटामिन फोलेट (बी ९) ले शरीरको कोशिका वृद्धिका लागि महत्वपूर्ण सहयोग पुर्याउँछ ।
रिबोफेलेभिन (बी २), थायमिन (बी १) ले ऊर्जा, स्नायु र समग्र स्वास्थ्यमा योगदान पुर्याउँछ । केरामा भिटामिन इ समेत कम मात्रामा पाइन्छ । केरामा पाइने अन्य पोषक तत्वहरुले मांसपेशी र रक्तचापलाई सन्तुलन राख्न सहयोग गर्छ । यसमा पाइने म्याङ्गनिजले हड्डीलाई मजबुत राख्न आवश्यक सघाउ पुग्छ । यसमा पाइने फाइवरले शरीरको पाचन प्रणालीलाई सहयोग पुर्याउँछ ।
आयात प्रतिस्थापनमा जोडः
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत केरा उत्पादनलाई प्राथमिकता दिएको छ । निर्वाहमुखी खेती प्रणालीबाट अघि बढी केरा खेतीमा व्यावसायिक रूपमा प्रोत्साहित गर्ने सरकारी योजनाले आम नेपालीको केराको मागलाई पूर्ति गर्ने अपेक्षा गरिएको छ । केरामा नेपाल आत्मनिर्भरताको सम्भावना छ ।
नेपालमा केरा उत्पादन सन् २०२६ सम्ममा ३,५५,२५० मेट्रि«क टन पुग्ने अनुमान गरिएको छ जुन २०२१ देखि वार्षिक रूपमा २.९ प्रतिशतले वृृद्धि भएको छ । देशको केरा उत्पादन सन् १९९५ देखि प्रतिवर्ष औसत ४.८ प्रतिशतका दरले बढ्दै गएको छ । सन् २०२३ मा नेपालले लगभग ४०४.६७ मिलियन किलोग्राम केरा उत्पादन गर्यो जुन विश्वव्यापी रूपमा नेपाल ३६ औँ स्थानमा छ ।
नेपालमा केराको घरेलु माग पनि बढ्दै गएको छ । यसको खपत सन् २०२६ सम्ममा लगभग तीन लाख मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । देशको केरा उत्पादन चाडपर्वको माग पूरा गर्न पर्याप्त छ ।
नेपाल केरा उत्पादक महासंघले आयात अनावश्यक भएको र यसले स्थानीय रोजगारीका अवसरहरुलाई खतरामा पार्न सक्ने बताएको छ । केरा उत्पादन नेपालका धेरै किसानहरुका लागि आयातको एक महत्वपूर्ण स्रोत हो विशेष गरी चितवन जिल्लामा । जहां यसलाई उच्च आय आर्जन गर्ने बाली मानिन्छ ।
यसैले यसको खेती विस्तार भैरहेको छ । नेपाल केरा उत्पादक महासंघ (एनबीपीएफ) ले सन् २०२५ को सेप्टेम्बर १७ मा एक विज्ञप्ति जारी गरी खुद्रा फलपूmल तथा तरकारी उत्पादक संघलाई दशैँ, तिहार र छठको उपलक्षमा आवश्यक पर्ने केरा देशभित्रैको उत्पादनले भ्याउने हुँदा विदेशबाट आयात नगर्न अनुरोध गरेको तथ्यका आधारमा नेपाल केरा खेतीमा आत्मनिर्भरतातर्फ उन्मुख भएको भान हुन्छ ।
तैपनि स्वदेशको उत्पादनले माग धान्न नसक्ने हुँदा छिमेकी मुलुक भारतबाट समेत भारी मात्रामा केरा आपूर्ति हुने गरेको छ । हालै जनस्वास्थ्य सरोकारका दृष्टिले विदेशबाट आयात गरिने फलपूmलहरु नेपाल भित्रिने स्थानहरुमा क्वारेन्टाइन जाँच पछि मात्र नेपाल भित्रिनुपर्ने नेपालको सर्वोच्च अदालतको फैसला अनुसार गत पुस महिनाको बीचमा नेपालमा केराको हाहाकार भई स्वदेशी केराको मूल्य भारी मात्रामा वृद्धि हुन गई निकै हंगामा भएको थियो ।
जी ९ प्रजाति लोकप्रियः
नेपालमा व्यवसायिक रूपमा लोकप्रिय विलियम हाइब्रिड र उच्च उत्पादन दिने जी ९ (ग्रान्ड नैन) टिस्यु कल्चर गरिएको क्याभेन्डिश विशिष्ट लोकप्रिय प्रजाति (केही सन्दर्भहरुमा ड्वार्फ क्याभेन्डिश भनेर पनि चिनिन्छ) स्वाद र उत्पादनका कारणले व्यवसायिक खेतीका लागि लोकप्रिय छ । जी ९ केरा जसलाई ग्राण्ड नैन पनि भनिन्छ । यो इजरायलबाट ल्याएर विकसित गरिएको हो । अहिले धेरै देशहरुमा विशेष गरी भारतमा यो प्रजातिको खेती अत्यधिक प्रचलनमा छ ।
नेपाली कृषकहरुले व्यापारिक एवं व्यवसायिक दृष्टिकोणले केरा खेती शुरू गरेका छन् । नेपालमा आयात निर्भरता कम गर्न आन्तरिक उत्पादन बढाउने लक्ष्य अनुरूप खेती गरिएका केराका प्रजातिहरूमा सुधारिएका स्थानीय मालभोग, हरिचल र झापाली मालभोग, रोबुष्टा समावेश छन् । केही वर्ष यता नेपालमा लोकप्रिय ग्राण्ड ९ (जी ९) प्रजाति केरा खेती गर्ने प्रचलन बढ्दो छ ।
यो केराको बोटको उचाई ८ देखि १० फिटसम्मको अग्लो हुने गरेको छ । १५ देखि १८ महिनामा यस बोटमा फसल लाग्ने गर्दछ । केरा घारीको आकार ३ पूmट हाराहारीमा हुन्छ । प्रत्येक घारीमा १२ देखि १५ काइँयो हुने र प्रत्येक काइँयोमा १५ देखि २० कोसा हुने गरेको छ । केराको लम्बाई ७ देखि ९ इञ्चसम्म पाइएको छ । प्रत्येक केराको तौल १५० देखि २०० ग्राम पाइएको छ । केरा लगाउन उपयुक्त स्थान तराई र भित्री मधेश उपयुक्त ठानिएको छ ।
ललितपुरमा यसको खेतीः
नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर प्रा.लि., कुमारीपाटी, पूर्णचण्डी, ललितपुर—१९ ले टिस्यु कल्चर प्रविधिबाट जी ९ प्रजातिका स्वस्थ्य बिरुवा उत्पादन गर्दै आएको छ । यहाँबाट उत्पादित यी केराका बेर्नाहरु ललितपुर महानगरपालिकाका २९ वटा वडा कार्यालय, वडा कार्यालय अन्तर्गतका विभिन्न सार्वजनिक स्थल वा पार्कहरुमा नमूनाका रूपमा वितरण गरी रोपिएका छन् ।
ती केराका बोटहरुले राम्रै प्रतिफल दिएको छ । यी वडाहरुमा केराखेती विस्तार कार्यमा ललितपुर महानगरपालिकाका वर्तमान वनस्पति सल्लाहकार डा. पुष्पमान अमात्यको गहन योगदान छ । ती केराका बेर्नाहरु रोप्नुअघि ललितपुरका २९ वटा वडा कार्यालयका प्रमुखहरुलाई यी प्रजातिको केराखेती गर्न प्रोत्साहित गर्ने काम अमात्यबाट भएको थियो । थिया े । यसको प्रतिफल हेरेर प्रत्येक वडाका कार्यक्षेत्रमा यी जी ९ प्रजातिको केरा लगाउन उत्साहित गरिएको छ ।
यसबाट निश्चय नै स्थानीय क्षेत्रका वासिन्दाहरुमा केरा खेतीको ज्ञान हुन गई हरियाली बृद्धिमा सहयोग पुग्नुका साथै हरेक घरहरुले फलपूmलका बोटहरु लगाउन प्रोत्साहित भएका खुशीको कुरा हो । (बोटबिरूवा र वातावरण सम्बन्धी कलम चलाइरहने अग्रज पत्रकार बिष्ट मिडिया प्वाइन्टका कार्यक्रम निर्देशक हुन् ।)