arrow

इरान–इजरायल तनाव: 

मध्यपूर्वमा जारी सैन्य गतिविधि तत्काल रोक्न सुरक्षा परिषद्‌मा गरिएको प्रस्ताव अस्वीकृत

सुरक्षा परिषद्‌मा रुसी प्रस्ताव अस्वीकृत, बहराइनको प्रस्ताव पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
iran-israel-usa-war-26-3-8.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले मध्यपूर्वमा जारी सैन्य गतिविधि तत्काल रोक्न र थप तनाव नबढाउन रुसद्वारा पेश गरिएको मस्यौदा प्रस्तावलाई अस्वीकार गरेको छ। बुधबार भएको मतदानमा रुसी प्रस्तावको पक्षमा आवश्यक मत नपुगेपछि उक्त मस्यौदा पारित हुन असफल भएको हो।

प्रस्तावको पक्षमा रुस, चीन, पाकिस्तान र सोमालियाले गरी जम्मा ४ मत दिएका थिए भने संयुक्त राज्य अमेरिका र लाटभियाले विपक्षमा मतदान गरेका थिए। परिषद्का अन्य ९ सदस्य राष्ट्रहरू भने मतदान प्रक्रियामा अनुपस्थित रहेका थिए। रुसी प्रस्तावमा मध्यपूर्व र सोभन्दा बाहिरका सबै पक्षहरूलाई सैन्य कारबाही रोक्न र नागरिक पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्न आह्वान गरिएको थियो।

रुसी प्रस्ताव असफल भए पनि सुरक्षा परिषद्ले मध्यपूर्वको वर्तमान संकटसम्बन्धी खाडी सहयोग परिषद् को तर्फबाट बहराइनले पेश गरेको अर्को मस्यौदा प्रस्तावलाई भने १३ मतका साथ पारित गरेको छ। उक्त प्रस्तावमा दुई सदस्य राष्ट्र अनुपस्थित रहेका थिए।

पारित प्रस्तावले खाडी राष्ट्रहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको कडा निन्दा गरेको छ। साथै, इरानलाई ती देशहरूमाथि भइरहेका आक्रमणहरू तुरुन्त बन्द गर्न माग गर्दै त्यस्ता कार्यहरू अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन र विश्व सुरक्षाका लागि गम्भीर खतरा भएको ठहर गरेको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमण र त्यसपछि इरानले यस क्षेत्रभरि दिएको जवाफी प्रतिक्रियाका कारण मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। सुरक्षा परिषद्को पछिल्लो निर्णयले यस क्षेत्रको भू–राजनीतिक ध्रुवीकरणलाई थप स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ