arrow

चुनावी इतिहासमा रास्वपाले समानुपातिकतर्फ ५० लाख मत कटाउँदै बनायो रेकर्ड

समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले रच्यो इतिहास

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै नयाँ रेकर्ड कायम गरेको छ। निर्वाचन आयोगको मंगलबार बिहान १०:४५ बजेसम्मको तथ्याङ्क अनुसार रास्वपाले ५० लाख ५२ मत प्राप्त गरी नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी समानुपातिक मत पाउने पहिलो दल बनेको हो।

कूल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भइसक्दा रास्वपाले एक्लै करिब ४८ प्रतिशत मत प्राप्त गरेको छ। नेपालमा यसअघि भएका कुनै पनि निर्वाचनमा कुनै पनि राजनीतिक दलले समानुपातिकतर्फ ५० लाख मतको आँकडा पार गर्न सकेका थिएनन्। यो नतिजाले रास्वपालाई देशकै सबैभन्दा ठूलो र शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित गरिदिएको छ।

बालेन शाहको नेतृत्व र युवाहरूको व्यापक समर्थनमा चुनावमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ पनि १२५ भन्दा बढी सिट जित्दै स्पष्ट बहुमततर्फ अग्रसर भइरहेको छ। समानुपातिकतर्फ कांग्रेस र एमाले जस्ता पुराना दलहरू निकै पछाडि परेका छन्। 

योसँगै नेपालमा २०६४ सालदेखि सुरु भएको समानुपातिक निर्वाचन प्रणालीको १८ वर्षे इतिहासमा रास्वपाले अभूतपूर्व रेकर्ड कायम गरेको छ। २०८२ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले ५० लाख मतको सीमा पार गरेसँगै यसअघिका निर्वाचनहरूमा ठूला दलहरूले राखेका सबै कीर्तिमान ध्वस्त भएका हुन्।

यसअघि कुनै पनि राजनीतिक दलले समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्न सकेका थिएनन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) ले प्राप्त गरेको ३१ लाख ७३ हजार ४९४ मत नै हालसम्मकै सर्वाधिक उच्च मानिन्थ्यो। तर, यसपटक रास्वपाले उक्त रेकर्डलाई निकै पछाडि छाड्दै नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेत गरेको छ।

विगतका निर्वाचनहरूको समानुपातिक मत परिणामलाई हेर्दा २०७९ सालको निर्वाचनमा एमालेले २८ लाख ४५ हजार र कांग्रेसले २७ लाख १५ हजार मत पाएका थिए। त्यस्तै, २०७४ मा कांग्रेसले ३१ लाख २८ हजार र माओवादी केन्द्रले १३ लाख ३ हजार मत प्राप्त गरेका थिए। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) ले ३१ लाख ४४ हजार मत ल्याएर इतिहास रचेको थियो, जुन रेकर्ड पनि अहिले रास्वपाले तोडिदिएको छ।

२०७० को संविधान सभा निर्वाचनमा भने नेपाली कांग्रेस २४ लाख १८ हजार मतका साथ पहिलो स्थानमा रहेको थियो। १८ वर्षको अन्तरालमा भएका चारवटा ठूला निर्वाचनका तथ्याङ्कलाई विश्लेषण गर्दा यसपटक रास्वपाले ल्याएको ५० लाख भन्दा बढी मतले पुराना स्थापित दलहरूको जनाधारमा गहिरो धक्का लागेको पुष्टि गर्दछ। यो नतिजाले मतदाताको चाहना पुरानो राजनीतिक पद्धतिबाट रूपान्तरण भई नयाँ शक्तितर्फ केन्द्रित भएको स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ