काठमाडौँ। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चारवटै क्षेत्रमा प्रत्यक्षतर्फ जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो पार्टी बनेको छ। जिल्लाका सबै निर्वाचन क्षेत्रमा रास्वपाले अन्य परम्परागत दलहरूभन्दा निकै बढी मत प्राप्त गरेर आफ्नो वर्चस्व कायम गरेको छ।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार क्षेत्र नं १ मा खसेको कुल ६२ हजार ५०६ मतमध्ये रास्वपाले ३४ हजार ४६३ मत प्राप्त गर्यो। यहाँ नेकपा (एमाले) ले ९ हजार २३१, नेपाली कांग्रेसले ८ हजार २६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार २४० मत पाएका छन्। यस्तै जनता समाजवादी पार्टी (जसपा) लाई १ हजार ९९ र नेपाली कम्युनिस्ट पार्टीलाई ६८१ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनायो।
क्षेत्र नं २ मा पनि ६७ हजार १०७ मत खसेकोमा रास्वपाले सबैभन्दा धेरै ३४ हजार ९१८ मत प्राप्त गर्यो। यहाँ नेपाली कांग्रेसले १० हजार ३४० र एमालेले ८ हजार ५८५ मत पाए। राप्रपालाई ३ हजार ५०६ र जसपा नेपाललाई २ हजार ४५० मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो।
क्षेत्र नं ३ मा रास्वपाले २४ हजार १५८ मत ल्याएर अग्रता लियो। यस क्षेत्रमा कांग्रेसले ८ हजार ६५०, एमालेले ६ हजार १६८ र नेपाली कम्युनिस्ट पार्टीले १ हजार १९५ मत पाए।
त्यस्तै, क्षेत्र नं ४ मा पनि रास्वपाले ३० हजार ३८९ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गर्यो। यहाँ कांग्रेसले ११ हजार ५१२ र एमालेले ९ हजार ९३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।