मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी रास्वपाको काँधमा आयो : स्वर्णिम वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
2.9k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले देशलाई सही दिशामा डोर्याउने ठूलो जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन्। तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई शनिबार प्रमाणपत्र ग्रहण गरेपछि आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
सांसद वाग्लेले अहिलेको निर्वाचन परिणामलाई 'सौम्य र शान्तिपूर्ण क्रान्ति' को संज्ञा दिएका छन्। उनले भने, “एक थोपा रगत नबगाई जनता नै सर्वेसर्वा हुन् भन्ने सन्देश गोप्य मतदानमार्फत प्रवाह भएको छ। यसको ऐतिहासिक महत्वलाई बुझेर अब मुलुकलाई सुशासनको बाटोमा लैजानु पर्नेछ।”
आफूलाई जिताउने तनहुँका जनताप्रति आभार व्यक्त गर्दै डा. वाग्लेले मतदाताले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता जनाए। आम जनताले थिति र सुशासनको अपेक्षा गरेको चर्चा गर्दै उनले ती अपेक्षाहरू पूरा गर्न आफूहरू दृढ रहेको बताए।
साथै, उनले 'जेनजी' आन्दोलनको जगमा आएको यो परिवर्तनले युवाहरूको आशालाई सम्बोधन गर्ने उल्लेख गरे। युवाहरूले देशमै भविष्य देख्न सक्ने वातावरण बनाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ थियो। सोही कार्यक्रममा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले नवनिर्वाचित सांसद डा. वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।