डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशीको यात्राः शिक्षकदेखि सांसदसम्म
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
630
Shares
काठमाडौँ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई ७ हजार १० मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन्। यो जितसँगै डडेल्धुरामा लामो समयदेखि रहेको कांग्रेसको गढ भत्किएको छ।
अन्तिम मतपरिणाम अनुसार डा. जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका महरले १२ हजार १२१ मत पाएका छन्। यस्तै, नेकपाका मानसिंह मालले ६ हजार ८३४ र नेकपा (एमाले) का चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरेका छन्।
२०२७ सालमा जन्मिएका डा. जोशी गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन्। २०४५ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनले लामो समय शिक्षण पेसा र पत्रकारितामा समेत समय बिताएका थिए। उनी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्ष समेत बनेका थिए।
निर्वाचन राजनीतिमा धेरै उतारचढाव भोगेका जोशी २०७० को संविधानसभा निर्वाचनमा शेरबहादुर देउवासँग पराजित भएका थिए। २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा जितेका उनले हालैको 'जेनजी' आन्दोलनपछि प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए। जवाहरलाल नेहरू विश्वविद्यालय (JNU) बाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि (पिएचडी) गरेका डा. जोशी बौद्धिक र प्रखर नेताका रूपमा चिनिन्छन्।