यस्तो छ एक सय १७ निर्वाचन क्षेत्रको नतिजा, रास्वपालाई ९१ सिट
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
828
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ।
आज बिहान ५:३० बजेसम्मको परिणाम अनुसार रास्वपाले ९१ निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ। निर्वाचन आयोगका अनुसार रास्वपाका उम्मेदवारहरू अझै ३४ वटा क्षेत्रमा अग्रता कायम गरिरहेका छन्।
अहिलेसम्म ११७ स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। जसमा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित निकालेको छ भने ३ स्थानमा अगाडि रहेको छ। नेकपा (एमाले) ले ७ स्थानमा जित हासिल गरेको छ र ४ स्थानमा अग्रता लिइरहेको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका ४ उम्मेदवार विजयी भएका छन् भने ३ स्थानमा उनीहरूको अग्रता छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित पक्का गरेका छन्। नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीका ३ उम्मेदवारहरू पनि विभिन्न क्षेत्रमा अग्रस्थानमा रहेका छन्।
समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ। जसमा रास्वपाले १० लाख ३ हजार १७५ मत सहित आफ्नो वर्चस्व कायम गरेको छ। नेपाली कांग्रेसले ३ लाख ३० हजार ७२८ मत, नेकपा (एमाले) ले २ लाख ६३ हजार ५८२ मत र नेपाली कम्युनिस्ट पार्टीले १ लाख १५ हजार १९१ मत प्राप्त गरेका छन्। यो नतिजाले नेपाली राजनीतिमा रास्वपा एउटा प्रमुख शक्तिका रूपमा उदाएको स्पष्ट पारेको छ।