काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार खनालले ४१ हजार ३४७ मत प्राप्त गरी भारी मतान्तरले जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का तिलक महतलाई २५ हजार ५९२ को विशाल मतान्तरले पराजित गरेका छन्।
एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले १४ हजार ७१३ मत पाएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका गणेशमान महतोले १ हजार ५३८ मत प्राप्त गरेका छन्। नवलपुरको यो नतिजाले यस क्षेत्रमा रास्वपाको बलियो पकड स्थापित भएको देखाएको छ। एमाले र कांग्रेसका स्थापित नेताहरूलाई ठूलो मतान्तरले पछि पार्दै युवा उम्मेदवार खनालले निकालेको यो जितलाई नवलपुरको राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। अहिले नवलपुरका विभिन्न स्थानमा रास्वपा समर्थकहरूले विजय उत्सव मनाइरहेका छन्।