चितवन ३ मा रास्वपाले बढार्यो रेणुलाई, सोविताको शान्दार जित
हारपछि रेणु दाहालको प्रतिक्रिया: 'कामले मन जितेँ, तर मत जित्न सकिनँ'
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
848
Shares
काठमाडौँ। चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले ऐतिहासिक जित हासिल गरेकी छन्। अन्तिम मतपरिणाम अनुसार गौतम ५९ हजार २७७ मतसहित विजयी भएकी हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी एवं भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेणु दाहाललाई ३८ हजार ६६२ को विशाल मतान्तरले पराजित गरिन्।
नेकपा (एमाले) र अन्य शक्तिहरूको साथ पाएकी रेणु दाहालले २० हजार ६१५ मत मात्र पाइन्। यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ र एमालेका शंकरराज थपलियाले ५ हजार ४ मत पाएका छन्। माओवादीको गढ मानिने यस क्षेत्रमा रास्वपाकी युवा उम्मेदवार सोविताको यो जितले देशकै ध्यान तानेको छ।
भारी मतान्तरले पराजित भएपछि रेणु दाहालले सामाजिक सञ्जालमार्फत आफ्ना मतदाता र समर्थकहरूलाई सम्बोधन गर्दै भावुक पत्र लेखेकी छन्। उनले निर्वाचनको यो परिणामलाई 'सुनामीको लहड' को संज्ञा दिँदै जनताको फैसलालाई सम्मान गर्ने बताएकी छन्।
दाहालले लेखेकी छन्, "मैले मेरो जीवनको उर्जाशील ९ वर्ष भरतपुरको विकास र समृद्धिका लागि समर्पित गरेँ। काममार्फत तपाईंहरूको मन त जितेँ तर मत जित्न सकिनँ।" उनले १५ महिनाको मेयरको कार्यकाल बाँकी छँदै नीति निर्माण तहमा पुगेर काम गर्ने उद्देश्यले प्रतिनिधिसभामा उम्मेदवारी दिएको स्पष्ट पारेकी छन्। विजेता सोविता गौतमलाई बधाई दिँदै उनले आगामी दिनमा पनि चितवनको विकासका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता जनाएकी छन्।
अहिले चितवनका विभिन्न स्थानमा रास्वपाका समर्थकहरूले 'घण्टी' बजाउँदै विजय जुलुस निकालिरहेका छन् भने लामो समयपछि चितवन ३ मा माओवादीको वर्चस्व समाप्त भएको छ।