arrow

किरियापुत्रीहरूले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
kiyaputri-voting-82-11-21.jpg
तस्बिर : आमाको निधन भएको छैटौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेका हुन्, रासस । 

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा किरियापुत्रीले मतदान गरेका छन् । आज भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैटौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेका हुन् । 

आमाको काजकिरियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उनले बताए। राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापतिसमेत हुन्  ।

उनले भने, “चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिन ।”

त्यस्तै तनहुँको व्यास नगरपालिका-११ मा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर खड्का र समुन्द्र खड्काले किरिया बसेको अवस्थामा मतदानमा सहभागिता जनाएका हुन् ।

उनीहरूले तनहुँ आधारभूत विद्यालय बेलटारी मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेको मतदान अधिकृत सुदीप कँडेलले जानकारी दिए । नागरिक आफ्नो कर्तव्यप्रति सचेत रहँदै व्यक्तिगत शोकमा पनि मतदानमा सहभागी भएका हुन् ।

त्यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् । नेपालगञ्ज-७ निवासी दिवङ्गत ८४ वर्षीय कमल राणाका छोरा सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका परिवारका सदस्यहरूले उक्त मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यसैगरी नेपालगञ्ज-६ निवासी दिवङ्गत ९६ वर्षीया रामप्यारी कुर्मीका छोरा माधवराम बर्मासहित मातृ शोकमा रहेका उनका परिवारका सदस्यहरूले नेपालगञ्ज-७ स्थित हडियाबाबा मठ केन्द्रमा मतदान गर्नुभएको उक्त केन्द्र (ख)का सहायक मतदान अधिकृत अल्का मिश्रले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ