काठमाडौँ । डिल्लीबजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीलाई जीवनमा कति पटक मतदान गरेँ भन्ने ठ्याक्कै सम्झना छैन। तर, उनलाई एउटा कुरा भने प्रस्ट छ—विगतका चुनावमा उनले भोट दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका बाचा पूरा गरेनन्।
“अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,” उनले भनिन्, “हामीले दुःख पाए पनि हाम्रा नातिनातिना र छोराछोरीले दुःख नपाऊन् भन्ने चाहना छ।” उनकी नातिनी अहिले वैदेशिक रोजगारीका लागि विदेशमा छिन्। देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता खाडी र अन्य मुलुक जान बाध्य नहुने रेग्मीको बुझाइ छ। उनी प्रश्न गर्छिन्, “देशमै काम पाइयो भने किन विदेश बस्नुपथ्र्यो र ?”
डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक ठानेका छैनन्। देशमा केही काम भएको तर जनताको अपेक्षाअनुसार पर्याप्त हुन नसकेको उनले बताए। “धेरै पटक मतदान गरियो। विगतमा केही पनि भएन भन्न मिल्दैन,” उनले भने, “तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन।” धितालको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी नै हो।
विशेषगरी नयाँ पुस्ता अर्थात् ‘जेनजी’को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए। “युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,” उनले भने। आज जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन भइरहेकाले युवाहरूको सहभागितालाई धितालले निकै महत्त्वका साथ हेरेका छन्।