arrow

निर्वाचनका लागि भारतले दियो ८७ ओटा गाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २० बुधबार
gadi-india.jpg

काठमाडौँ। गत भदौमा भएको जेन-जी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालमा ऐतिहासिक र अर्थपूर्ण रूपमा हेरिएको छ।

यस निर्वाचनलाई छिमेकी मुलुक भारतले समेत निकै महत्व र चासोका साथ हेरिरहेको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा भारतले नेपाललाई आवश्यक सहयोग प्रदान गरेको बताइन्छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार भारत सरकारले नेपाल सरकारलाई ठूलो संख्यामा सवारीसाधन उपलब्ध गराएको छ, जसलाई निर्वाचन प्रयोजनका लागि प्रयोगमा ल्याइएको छ ।

घिमिरेले भने, ‘भारत हाम्रो महत्वपूर्ण छिमेकी राष्ट्र हो । उसले हाम्रो चुनावमा सहजता थप्न करिब ८७ ओटा गाडी उपलब्ध गराएको छ । हामीले अघिल्ला निर्वाचनदेखि नै निरन्तर रूपमा भारतबाट सहयोग प्राप्त गर्दै आएका छौँ। भारत सरकारले नेपाल सरकारमार्फत निर्वाचनका लागि ठूलो संख्यामा सवारीसाधन उपलब्ध गराएको छ, जुन अहिले निर्वाचन कार्यमा प्रयोग भइरहेका छन् ।’

उनले सुरक्षा दृष्टिकोणबाट पनि भारतले सहयोग गरिरहेको जानकारी दिए । ‘निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भारतसँग सिमाना जोडिएका केही क्षेत्रहरूमा सीमाना सिल गरिएको छ,’उनले भने ।

भारतबाहेक अन्य छिमेकी राष्ट्रहरूबाट पनि सहयोग प्राप्त भइरहेको आयोगले जनाएको छ ।

घिमिरेका अनुसार चीन, कोरिया र जापानले पनि नेपाल सरकारमार्फत विभिन्न प्रकारको सहयोग उपलब्ध गराइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार ५ मार्च बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

यस निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ जना मतदाता सहभागी हुनेछन् ।

यस पटक करिब ११ लाख नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातालाई मतदान प्रक्रियासम्बन्धी जानकारी दिन वडा तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ ।

देशभर १० हजार ९६७ मतदान स्थलअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएको छ ।

मतदाताको सुविधा र सुरक्षालाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ