काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच संयुक्त राज्य अमेरिकाले खाडी मुलुकस्थित आफ्ना दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ। सुरक्षा जोखिम बढेपछि अमेरिकाले तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकहरूलाई तत्काल देश छोड्न आदेशसमेत दिएको छ।
साउदी अरबको रियादस्थित अमेरिकी दूतावासले मङ्गलबारदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि आफ्ना सबै कार्यहरू बन्द गरेको छ। सामाजिक सञ्जाल 'एक्स' मार्फत दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ। यसअघि साउदी अधिकारीहरूले रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेका थिए।
त्यसैगरी, कुवेतस्थित अमेरिकी दूतावासले पनि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण कूटनीतिक सेवाहरू निलम्बन गरेको छ।
अमेरिकी विदेश विभागले बहराइन, जोर्डन र इराकमा रहेका गैर-आवासीय कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई ती देश छोड्न आदेश दिएको छ। विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारलाई 'स्वैच्छिक प्रस्थान' को अनुमति दिन ती देशका सरकारहरूलाई अनुरोधसमेत गरेको छ।
गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित वरिष्ठ कमान्डरहरूको मृत्यु भएपछि यो क्षेत्रमा द्वन्द्व चर्किएको हो। त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरू विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ। अमेरिकाको यो पछिल्लो घोषणाले मध्यपूर्वमा महायुद्धको खतरालाई थप नजिक ल्याएको विश्लेषण गरिएको छ।