arrow

जनसेवक भएरै जनमनमा बसेका नुवाकोट २ का जगदीश्वरनरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
jagadishwor-narasingh-kc-82-11-18.jpeg

नुवाकोट । जगदीश्वरनरसिंह केसी समाजसेवी एवम् नेपाली कांग्रेसका प्रभावशाली राजनीतिज्ञ हुन् । केसी अहिले नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । जनताको प्रिय बनेका केसीको पक्षमा जनलहल देखिन्छ । 

त्यसो त जिल्लामा जनताको निरन्तर सेवा गर्दै आएका केसीले पहिलो र दोस्रो संविधान सभामा संविधान निर्माण प्रक्रियामा निकै सक्रिय भूमिका खेलेका थिए । उनले नुवाकोटका जनताको पक्षमा वकालत गरिरहनुका साथै जिल्लाका धेरै दिगो विकास कार्यका लागि जिम्मेवारी बहन गर्दै आएका छन् ।
 
राजनीतिक यात्रा 

नेपाली कांग्रेसका तर्फबाट संविधान सभामा दुई पटक प्रतिनिधित्व गरेका केसी राजनीतिशास्त्रका स्नातक हुन् । राउतबेसी, नुवाकोटका केसीले आफ्नो राजनीतिक यात्रा २०३२ सालमा शान्ति विद्यागृहको विद्यार्थी छँदा एकाइ सभापतिका रूपमा शुरू गरेका हुन् । 

त्यसपछि निरन्तर प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील उनले जनमत संग्रह, सत्याग्रह र ०४६ र ०६२/०६३ का अन्दोलनमा सक्रियता साथ भाग लिँदै आएका हुन् । विसं ०४२, ०४६ र ०६२/०६३ मा गरी झण्डै छ महिना जेलजीवन बिताएका उनलाई यस बीचमा तीन महिना भूमिगत पनि रहनु परेको थियो । 

यस्तै ०४८ सालमा बुटवलमा सम्पन्न निर्वाचनबाट नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य निर्वाचित भएका केसी सोही वर्ष नेपाली कांग्रेसको महासमिति सदस्य र जिल्ला समिति सदस्यसमेत बनेका थिए । ०४९ सालमा जिल्ला विकास समिति सदस्य बनेका केसी ०५१ सालमा जिल्ला उपाध्यक्ष र ०५६ सालमा महासचिव पदमा निर्वाचित भएका थिए । 

यस्तै ०५७, ०६१, ०६९ र ०७३ सालमा लगातार चार पटक नेपाली कांग्रेस नुवाकोट जिल्ला समितिको सभापतिमा निर्वाचित भएका थिए । यस बीचमा उनी विराटनगरस्थित नेविसंघ केन्द्रीय निर्वाचन बोर्डको सदस्यमा समेत मनोनित भएका थिए । 

विकासमा भूमिका
सांसदको रूपमा रहँदा उनले विभिन्न मन्त्रालयहरूसँग समन्वय गरेर नुवाकोट जिल्लाको विकासका लागि बजेट ल्याउन विशेष भूमिका खेलेका थिए । उनले मध्यपहाडी लोकमार्गलाई नुवाकोटसम्म विस्तार गर्ने पहल गर्नुका साथै बालाजु–रणीपौवा बाटोलाई विदुरसम्म विस्तार गरी जोरदेखि छहरेसम्मको सुरुङमार्ग बनाउन चिनियाँ प्राविधिक टोलीलाई ल्याएर सर्वेक्षण गराएका थिए । 

यस्तै ओखरपौवा–गल्छी वैकल्पिक राजमार्ग पुनर्निर्माणमा योगदान पुर्याएका उनले स्वास्थ्य, शिक्षा, खाद्य र आधारभूत पूर्वाधार विकासलाई प्राथमिकताका काममा सहयोग गर्दै आएका छन् । बेरोजगारी नै पिछडिएको प्रमुख कारण हो भन्ने विश्वासका साथ उनले युवालाई रोजगारीमा प्रोत्साहन गर्ने र विभिन्न संस्थागत अवसरहरू उपलब्ध गराउन सहयोग गर्दै आएका छन् । 

नुवाकोट जिल्ला नेतृत्व र पहल

कांग्रेसको १४औँ महाधिवेशनअघि केसीले पार्टी नेतृत्व र निर्देशनको सार्वजनिक रूपमा आलोचना गरेका थिए । उनले समयमै निर्वाचन, भ्रष्टाचार विरुद्धको उपाय र यथास्थितिबाट युवा नेतृत्वका लागि अवसर बढाउने लगायतका ठूला सुधार नगरी आगामी निर्वाचनमा पार्टीले चुनौती सामना गर्नुपर्ने अडान राख्दै आएका थिए ।
 
पार्टी नेतृत्व र संसदीय भूमिका केसी नेपाली कांग्रेस नुवाकोटको संगठनमा अत्यन्तै बलियो पकड राख्ने नेता हुन् । समाजसेवा र निष्ठा राजनीति बाहेक उनी समाजसेवामा पनि सक्रिय छन । 

उनी यशौदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्टका संस्थापक महासचिव पनि हुन । उक्त संस्थाले विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा सेवा पुर्याउँदै आएको छ । 

साथै केसी नेपाली राजनीतिमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्रति निष्ठावान्, निडर र अविचलित नेताका रूपमा चिनिन्छन् । देश र जनताको सेवामा समर्पित उनले पछिल्लो पटक २०७८ सालमा बागमती प्रदेश सभापतिको उम्मेदवार बनेर पार्टीको लोकतान्त्रिक अभ्यासमा भाग लिएका थिए । 

नुवाकोट २ मा केसी नै किन ? 

राजनीतिमा जीवनको ठूलो हिस्सा समर्पण गरेका नेता केसी केवल एक राजनीतिक व्यक्तित्व मात्र होइनन् । नुवाकोटेबासीका लागि परिवारकै सदस्यजस्तै आत्मीय बनेका छन्  । 

उनको सरलता, सादगी र निस्वार्थ सेवाभावले नुवाकोटमा फरक किसिमको राजनीतिक विश्वास र भावनात्मक सम्बन्ध निर्माण गरेको छ । चार पटकसम्म जिल्लाको नेतृत्व सम्हालिसकेका नेता केसी पद र प्रतिष्ठाभन्दा जनताको पीडालाई प्राथमिकतामा राख्ने नेताका रूपमा परिचित छन् । 

उनका लागि राजनीति भाषण र नारामा सीमित छैन, बरु जनताको घरदैलो, आँगन र भान्सासम्म पुगेर सुख–दुःख साट्नु नै राजनीति हो । यही कारणले नुवाकोटका गाउँ–टोलमा कोही बिरामी पर्दा, परिवारमा दुःखद घटना घट्दा वा कुनै शुभकार्य पर्दा सबैभन्दा पहिले सम्झिने नाम जगदीश्वरनरसिंह केसी नै हुन्छ । 

घरदैलो अभियानका क्रममा देखिएको स्वतःस्फूर्त जनसहभागिता र उत्साहले यो विश्वासलाई अझ सुदृढ बनाएको छ । ज्येष्ठ नागरिक, आमाबुबा, युवा पुस्ता सबै वर्गले “हाम्रो नेता” भनेर गर्वका साथ केसीलाई अघि सारिरहेका छन् । 

विभिन्न स्थानमा मोटरबाटो निर्माणदेखि खानेपानी, सिँचाइ नहर, विद्यालयमा स्वास्थ्य सामग्री पुर्याउने कार्यसम्म उनले निरन्तर पहल गर्दै आएका छन् । निर्वाचन जितेर पटक–पटक मन्त्री बनेका अन्य नेताको तुलनामा, केसी चुनावमा नउठ्दा, सांसद नहुँदा वा कार्यकारी पदमा नपुग्दा पनि आफ्नो जिल्ला र भूगोललाई केन्द्रमा राखेर राज्यलाई खबरदारी गरिरहेको तथ्य नुवाकोटे जनताले नजिकबाट देखेका छन् । 

त्यसैले आज नेता केसीलाई संसदसम्म पुर्याउने यात्रामा तमाम मतदाताहरू सहयात्री बनेर एकताबद्ध भएका छन् । गाउँ–टोलमा उठिरहेको स्वतःस्फूर्त जयजयकार, घर–घरबाट देखिएको समर्थन र दिन–रात खटिरहेका समर्थकहरूले नेता केसीको विजय अब औपचारिकतामात्र बाँकी रहेको अनुभूति गराइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ