arrow

भयरहित चुनावका लागि सरकार तयार, मतदानमा सहभागी हुन प्रधानमन्त्रीको अपील [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
sushila-karki-21-11-082.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुन लागेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न नागरिकलाई अपील गरेकी छन् । 

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बताइन् । 

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको उनको भनाइ छ ।

उनका अनुसार ‘जेन-जी आन्दोलन’ पछिको अवस्था जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो । सडकमा देखिएको युवाको आक्रोश र देशको भविष्यप्रतिको अन्योलबीच वर्तमान सरकारले परिस्थितिलाई व्यवस्थापन गर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्याएको दाबी गरिन् । 

संविधानको बाटोमा फर्किँदै विधिको शासन स्थापित गर्न सफल भएको र यो उपलब्धि जनताको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ थियो ।

निर्वाचन तयारीबारे उनले निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको भूमिका प्रशंसनीय रहेको बताइन् । 

छोटो समयमै तयारी पूरा भएको र चार ओटै सुरक्षा संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिँदै भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र संयमित ढंगले प्रचारप्रसार गर्न सबै राजनीतिक दल र उम्मेद्वारलाई आग्रह गरिन् ।

उनले भ्रामक, तथ्यहीन सामग्री सामाजिक सञ्जाल र आमसञ्चारमार्फत फैलाएर निर्वाचन वातावरण बिगार्न खोज्ने तत्वमाथि कडा निगरानी भइरहेको चेतावनी दिइन् ।

दण्डहीनतालाई कुनै हालतमा प्रश्रय नदिइने र कानून अनुसार कडा कारबाही हुने सरकारको अडान रहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ