बदर मत न्यून बनाउन आयोगको कसरत, सात हजारभन्दा बढी वडामा घरदैलो शिक्षा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
609
Shares
काठमाडौँ । निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउँदै बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आयोगले देशभरका कुल ६ हजार ७४३ वटै वडामा एकैपटक सञ्चालन गरेको यो कार्यक्रम स्वीकृत कार्यतालिका अनुसार गत फागुन ३ गतेदेखि सुरु भई ७५३ स्थानीय तहका सबै वडाहरूमा आइतबार औपचारिक रूपमा सकिएको हो।
हरेक वडामा मतदातालाई शिक्षित बनाउनका लागि विशेष रूपमा मतदाता शिक्षा स्वयंसेवकहरू परिचालन गरिएको थियो जसले गर्दा आम नागरिकसम्म निर्वाचनको सन्देश पुग्न सफल भएको छ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आम नागरिकबीच भिजेका इमानदार स्वयंसेवकका कारण यो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताएकी छन्। उनले विशेष गरी महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको प्रशंसा गर्दै यस लक्षित कार्यक्रमले आफ्नो उद्देश्य प्राप्त गरेको उल्लेख गरिन्।
मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी स्वास्थ्य स्वयंसेविकालाई २०७९ को आम निर्वाचनदेखि दिन थालिएकोमा यस पटक पनि उनीहरूलाई नै सोही जिम्मेवारी सुम्पिएर प्रभावकारी रूपमा कार्यान्वयन गरिएको हो।
यस अभियान अन्तर्गत स्वयंसेवकहरू आम मतदाताको बस्ती र घरदैलोमै पुगेर नमुना मतपत्रका माध्यमबाट निर्वाचनको महत्त्व र मतदान गर्ने सही प्रक्रियाबारे विस्तृत जानकारी दिएको आयोगले जनाएको छ। कार्यक्रमको प्रभावकारिताका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिहरूलाई नै अनुगमनकर्ता तोकी आवश्यक अभिमुखीकरण समेत प्रदान गरेको थियो। मतदाता शिक्षाको यो चरण सम्पन्न भएसँगै सबै स्वयंसेवकहरूले आफ्नो कार्यक्षेत्रको प्रतिवेदन आयोगमा बुझाउने तयारी गरेका छन्।