काठमाडौँ २ का आशा लाग्दा विकासप्रेमी उम्मेदवार कबिर शर्मा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
941
Shares
काठमाडौँ । सुसंस्कृत राजनीतिक अभ्यास गरिरहेका, शिक्षित, शालीन र विकासप्रेमी नेतृत्वको आशा लाग्दा किरण हुन् कबिर शर्मा । तिनै शर्मा अहिले काठमाडौँ २ मा नेपाली कांग्रेसको तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । शर्मा यस क्षेत्रको भूगोल बुझेको, शिक्षित, निष्कलंक व्यक्तित्वको रूपमा परिचित छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी बढ्दै जाँदा काठमाडौँ २ मा कबिर शर्मा बढी चर्चामा छन् । अहिले त्यस क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये शर्मा सबैभन्दा बलिया दावेदारका रूपमा हेरिएका छन् । शर्मा केवल एउटा राजनीतिक अनुहार मात्र नभई, यस क्षेत्रले लामो समयदेखि खोजेको र यस क्षेत्रका लागि आवश्यक पात्र हुन् ।
काठमाडौँको मूलपानीमा ०४४ सालमा जन्मिएका शर्मा १७ वर्षको उमेरदेखि त्रिचन्द्र क्याम्पसको जगबाट राजनीतिक यात्रा थालेका थिए । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन–स्ववियुमा रहँदा विद्यार्थीको हकहितमा लडेका शर्माले पार्टीको आन्तरिक शक्ति संघर्ष र पदको लोभभन्दा सधैँ माथि उठेर काम गरेका थिए ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल हुँदै नेपाली कांग्रेसका सबै नर्सरीमा राजनीतिक यात्रा गरेका उनले आफ्नो भूगोलको राजनीतिलाई नै प्राथमिकता दिएका छन् । फलतः कांग्रेसको १४औँ महाधिवेशनमा उनी सम्भवतः देशभरकै सबैभन्दा कान्छो उमेरको क्षेत्रीय सभापतिका रूपमा निर्वाचित भए ।
बीएस्सी पढ्दै गर्दा विद्यार्थी हुँदै सक्रिय राजनीतिमा होमिएका उनले कहिल्यै अध्ययन र राजनीतिलाई अलग गरेनन् । काठमाडौँ २ ले पछिल्लो समय परिस्थिति अनुकूलको राजनीतिक नेतृत्व विकास गर्ने कार्यमा सकारात्मक फड्को मारेको छ । उनले यस क्षेत्रका सबै तहका नेताको सहयोगी बनेर पार्टीलाई एकताबद्ध बनाउन खेलेको भूमिका अझै सम्झनयोग्य छ ।
अहिलेको राजनीतिक परिवेशमा पुराना दलले केही गरेनन् अब नयाँ दललाई रोज्नुपर्छ भन्ने एउटा भाष्य निर्माण गर्न खोजिएको छ तर, लोकतन्त्रमा दल आफैँमा पुरानो वा नयाँ हुनुभन्दा पनि त्यो दलले कस्तो व्यक्तिलाई अगाडि सारेको छ र उक्त व्यक्तिको क्षमता के हो भन्ने कुरा मुख्य हुन्छ ।
काठमाडौँ २ को विशिष्ट भूगोल र आवश्यकतालाई हेर्दा यहाँमात्र नयाँ अनुहार होइन, यहाँको भूगोल बुझेको, शिक्षित, निष्कलंक र विज्ञ नेतृत्वको खाँचो छ । धेरै समयपछि आवश्यक र समय सापेक्ष कबिर शर्मा उम्मेदवार हुँदा कांग्रेसले उपयुक्त पात्र पाएको अनुभूति यस क्षेत्रका धेरैजसो जनताले महसुस गरेका छन् ।
०६२/६३ को जनआन्दोलनपछिको सक्रिय राजनीतिबाट उदाएका कबिर शर्माले संविधान सभा, आमनिर्वाचन तथा स्थानीय तहका निर्वाचनमा निरन्तर भूमिका निर्वाह गर्दै आएका थिए । कतिपय निर्वाचनमा सफलता हात परे, कतिपयमा अपेक्षित परिणाम आएन । तर कुनै पनि अवस्थाले उनको नेतृत्व, दृष्टि र उद्देश्यलाई विचलित गरेन ।
हार जितलाई राजनीतिमा स्वभाविक र सिकाइको प्रक्रिया मानेर उनले हरेक चुनौतीलाई शक्ति र अनुभवमा रूपान्तरण गरे । परिणामको क्षणिक मूल्यांकनभन्दा माथि उठ्दै उनी अझ दृढ, अझ परिपक्व र अझ प्रतिबद्ध बनेर पार्टीलाई सुदृढ, संगठित र एकढिक्का बनाउने अभियानमा निरन्तर अग्रसर रहिरहे ।
राजनीतिमा अब्बल, इमानदार र निष्ठावान् व्यक्तित्वहरूलाई मूलधारमा जोड्दै आम नागरिकमा राजनीतिप्रति आकर्षण जगाउन यो क्षेत्र एक हदसम्म सफल भएको छ । गतिशील र संस्कारयुक्त राजनीतिको जग बसाल्दै शर्माले काठमाडौँ २ लाई राजनीतिक रूपान्तरणको एउटा बलियो खम्बाको रूपमा स्थापित गर्न उल्लेखनीय भूमिका खेलेका छन् ।
भूगर्भशास्त्रमा एमएस्सी गरेका उनी एक अनुभवी भूगर्भविद् (जियोलोजिष्ट) हुन् । मेलम्ची खानेपानी परियोजना र चमेलिया विद्युत परियोजना जस्ता राष्ट्रिय गौरवका आयोजनामा काम गरेको अनुभवले उनलाई देशको पूर्वाधार विकास र प्राविधिक आवश्यकताको गहिरो ज्ञान छ ।
शैक्षिक योग्यता र योगदान
काठमाडौँको त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षा अध्ययनको सिलसिलामा उनी नेविसंघको राजनीतिमा संलग्न भए । उनले भूगर्भविज्ञानमा स्नातकोत्तर गरेका छन् ।
शिक्षा र रोजगारी बीचको खाडललाई पुर्न तथा युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ उनले कान्तिपुर एकेडेमी स्थापना गरी प्राविधिक शिक्षाको क्षेत्रमा एउटा महत्वपूर्ण जग बसालेका छन् ।
शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई जीवन जिउने कला सिकाउने र उपयोगी हुनुपर्छ भन्ने मान्यतालाई उनले व्यवहारमै उतारेका छन् । उनकै अथक पहलमा कागेश्वरी मनोहरा नगरपालिकाको सामुदायिक विद्यालयमा पहिलो पटक कक्षा ९ देखि नै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) र ’रोबोटिक्स’ को अनिवार्य कक्षा शुरू गरिएको छ । भविश्यको पुस्तालाई प्रविधिसँग जोड्ने यो दूरगामी कदमले उनलाई एक ‘भिजनरी नेताका रूपमा स्थापित गरेको छ । “पढाइसँगै कमाइ” को अवधारणालाई सार्थक बनाउन उनले चालेको यो कदम प्राविधिक शिक्षाको क्षेत्रमा कोसेढुङ्गा सावित भएको छ ।
काठमाडौँ २ को सर्वाङ्गीण विकास, शिक्षा, पर्यटन, सहरी विकास, रोजगारी, खानेपानी लगायतका आधारभूत समस्या समाधानका लागि शर्मा जस्तो प्राविधिक, व्यावहारिक विज्ञता भएको र जनतासँग घुलमिल भएको तथा सबैले सधैँ सहज पहुँच राख्न सक्ने उपयुक्त पात्र यस क्षेत्रले सायद अहिलेसम्म पाएको थिएन ।
त्यसकारण शर्मा यस क्षेत्रका लागि उपयुक्त प्रतिनिधि हुन् । अहिले प्रतिस्पर्धामा रहेकामध्ये कबिर शर्मा अन्यको तुलनामा उत्कृष्ट मानिएका छन् । त्यस क्षेत्रका युवा, महिला र बुद्धिजीवी मतदाताको मनमा बस्न सफल भएका छन् ।