arrow

मुलुकको तरल राजनीतिबाट छुटकारा पाउने तरिका 

logo
डा द्वारिकानाथ ढुंगेल, 
प्रकाशित २०८२ फागुन १६ शनिबार
dwarikanath-dhungel-82-11-16yyy.jpeg

विभिन्न महानुभावहरूले निर्वाचन हुन केही दिनअघि मसँग “चार जना पूर्व प्रधानसेनापति किन भारततर्फ लागे ?” भनेर प्रश्न गर्नुभयो । उहाँहरूको भारत भ्रमणबारे मेरो लेखा–जोखा यस प्रकार छः

१. नेपालको स्थिति तरल छ। निर्वाचनपछि पनि राजनीतिक रूपमा तरल नै रहने देखिन्छ। यस तरलताको फाइदा अरूले लेलान् भन्ने चिन्ता भारतलाई लागेको हुन सक्छ।

२. २०७२ सालको संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा पनि राजसंस्था नेपाली राजनीतिबाट हराउनुको सट्टा अझै प्रमुख मुद्दा र शक्तिका रूपमा कायम नै छ।

३. नेपाली सेना र भारतीय सेनाबीचको सम्बन्ध राम्रो र न्यानो रहँदै आएको छ। मुलुकको सम्बन्धमा उतार–चढाव हुँदा पनि दुवै सेनाले आपसी सम्बन्ध राम्रो र न्यानो राख्न सहयोग पुर्‍याउँदै आएको बुझिन्छ।

४. बुँदा नं. १–३ मा उल्लेखित कुराका अतिरिक्त भारतीय गुप्तचर निकायले नेपालको वर्तमान अवस्थाबारे आफ्नै आकलन गरेको हुन सक्छ।

५. उल्लिखित सबै कुरालाई दृष्टिगत गरी भारत सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार लगायतको सल्लाहमा भारतीय सेनालाई राजसंस्थाको अन्त्य गर्न खेलेको भूमिका लगायतका विषयमा छलफल गर्न नेपाली सेनाका चार पूर्व प्रधान सेनापतिलाई नयाँ दिल्ली बोलाएर कुरा गर्न निर्देश गरेको हुन सक्छ। आमन्त्रण गरिएका पूर्व सेनापति वर्तमान सेना प्रमुखलाई जानकारी दिएर नया दिल्ली गएको  हुनुपर्छ ।

६. मैले थाहा पाएसम्म जनरल प्यारजंग थापा राजसंस्था हटाउँदा सेना प्रमुख थिए, तर अहिले राजसंस्थाको पुनर्स्थापनाको पक्षमा छन् । जनरल क्षेत्री पदबाट बिदा भएपछि पत्रपत्रिकाद्वारा आलोचित भएका पूर्व सेना प्रमुख भए पनि २०७२ सालमा संविधान जारी भएपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दी हटाउन भूमिका खेल्ने सेनापतिका रूपमा चिनिन्छन् । 

जनरल गौरव शमशेर राणाको, बुझेसम्म, भारतका प्रभावशाली परिवारसँग पारिवारिक सम्बन्ध छ। अर्का जनरल थापा विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा र नेपालको नयाँ नक्सा सार्वजनिक गर्दा (?) नेपाली सेनाका प्रमुख थिए । यस्तो भिन्न प्रकृति तथा पृष्ठभूमि भएका पूर्व सेना प्रमुखहरु भारत पुगेका छन्। उनिहरूले नयाँ दिल्लीमा के भन्छन् वा नयाँ दिल्लीले उनिरूलाई के भन्छ, विस्तारै थाहा पाइएला।

मेरो विचारमा, जबसम्म मुलुकभित्रै विभिन्न राजनीतिक तथा सामाजिक शक्तिहरूले एकअर्काको आवश्यकता बुझेर एक अर्कालाई निषेधगर्ने नीति त्याग्दैनन्  र मित्रराष्ट्रहरूले पनि मुलुकको तरल राजनीतिको अन्त्यका लागि सम्बन्धित सबै राजनीतिक तथा सामाजिक शक्तिलाई एक ठाउँमा बसेर भविष्यको खाका कोर्न प्रोत्साहित गर्दैनन्, तबसम्म मुलुकले तरल राजनीतिबाट छुटकारा पाउला भन्ने लाग्दैन । 

साथै उल्लेख गरिसकेँ, आसन्न निर्वाचनले पनि मुलुकलाई तरल राजनीतिबाट छुटकारा दिन्छ जस्तो लाग्दैन। अतः निर्वाचनपछि मुलुकका सबै शक्ति आमनेसामने बसेर संवाद गर्नु आवश्यक छ। यसका लागि सबैले विश्वास गर्ने व्यक्तिहरूले खुकुलो सञ्जाल बनाएर सहजकर्ताको भूमिका खेल्नु राम्रो होला ।

नेपाली सेनाका चार पूर्वप्रमुख किन गए भारत ? भन्ने बीबीसी न्यूजको यस समाचारअनुसार बैठकको छलफलको एजेण्डा उतैबाट तय हुने कुरा उल्लेख छ । साथै जनरल मेहताले बैठकमा छलफल हुन सक्ने विषय भनेर उल्लेख गरेका कुरा र आसन्न निर्वाचन अगाडिको कनक्लेबमा भाग लिन निम्ता गरिएका जनरलको पृष्ठभूमिको आधारमा मेरो लेखा जोखा हो । कनक्लेबमा नेपालको सहभागिता - आसन्न निर्वाचन अगाडि भएकोमा लेखाजोखा गर्न पाइन्छ होला । त्यसमा पनि छिमेकी मुलुकको हरेक क्षेत्रमा चाख तथा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्ने  इतिहास जग जाहेर छ । (डा ढुंगेल सरकारका पूर्व सचिव, लेखक एवं सामाजिक अभियन्ता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ