काठमाडौँका कांग्रेस उम्मेदवारहरूले संयुक्तरूपमा आज भिजन १० सार्वजनिक गर्दै
महामन्त्री पौडेलको अग्रसरतामा उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १४ बिहिबार
2.7k
Shares
काठमाडौँ । संघीय राजधानी उपत्यका अन्तर्गत पर्ने काठमाडौँ, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुका तर्फबाट विकासको मार्ग चित्र भिजन १० साझा प्रतिबद्धता आज सार्वजनिक हुँदैछ ।
दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरुको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । काठमाडौँ ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका थिए ।
महामन्त्री पौडेलले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्शपश्चात खाका तयार पारिएको र आज सार्वजनिक गर्ने जानकारी दिए ।
'समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ । एक्लाएक्लै भन्दा साझा रुपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हौँ', उनले भने ।
कार्यक्रममा तीन ओटै जिल्लाका नेपाली कांग्रेसका उम्मेदवारहरू उपस्थित हुने नेपाली कांग्रेस काठमाडौँका सचिव सुशन वैद्यले जानकारी दिए ।
उक्त कार्यक्रम काठमाडौँको विशालनगर भाटभटेनीमा दिउँसो १ बजे हुने भएको छ ।