निर्वाचन खर्चका लागि काठमाडौँका दुई सय १९ उम्मेदवारले खोले बैंक खाता
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
718
Shares
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका २५० उम्मेदवारमध्ये हालसम्म २१९ जनाले मात्र बैंक खाता खोलेका छन्। बाँकी ३१ जना उम्मेदवारले अझै बैंक खाता खोलेको विवरण प्राप्त नभएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँकी सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिइन्।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र ६३ बुँदे निर्देशनअनुसार प्रत्येक उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्ने व्यवस्था छ। आयोगले फागुन ३ गते नै राजनीतिक दलहरूलाई बैंक खाताबाहेक अन्य माध्यमबाट खर्च नगर्न निर्देशन दिएको थियो।
निर्वाचन आयोगले उम्मेदवारहरूको खर्चलाई पारदर्शी बनाउन र सुशासन प्रवर्द्धन गर्न कडा नियमहरू लागू गरेको छ। जसअन्तर्गत २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत नै लिनुपर्ने र सोही खाताबाट खर्च गर्नुपर्ने प्रावधान छ।
भौगोलिक अवस्थितिका आधारमा उम्मेदवारहरूले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ। आयोगले आवश्यक ठानेमा उम्मेदवारको बैंक खाताको विवरण र सक्कल बिल भरपाई माग गर्न सक्ने र यसपटक उम्मेदवारको खाताबाट हुने आर्थिक कारोबारको सुक्ष्म अनुगमन समेत गरिने जनाइएको छ।
काठमाडौँमा अधिकांशले खाता खोले पनि देशभरको तथ्याङ्क भने निकै कम देखिएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तर, तीमध्ये हालसम्म एक हजार ३८९ जनाले मात्र बैंक खाता खोलेको जानकारी आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले दिए।
आयोगले बारम्बार निर्देशन दिँदा पनि राजधानीकै उम्मेदवारहरूले समेत पूर्ण रूपमा खाता नखोल्नुले चुनावी खर्चको पारदर्शितामा चुनौती देखिन सक्ने सङ्केत गरेको छ।