निर्वाचन प्रणाली सुधार नभएसम्म महिला सहभागिता बढ्दैन: उपाध्यक्ष घिमिरे
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
647
Shares
काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले विद्यमान निर्वाचन प्रणालीमा सुधार नभएसम्म प्रत्यक्षतर्फ महिला उम्मेदवारहरूको सहभागिता बढाउन कठिन रहेको बताएकी छन्। बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएकाले महिलाहरू पछि पर्नु परेको स्पष्ट पारिन्।
उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचन लड्नका लागि पार्टीबाट प्रस्ताव आए पनि खर्च धेरै हुने डरले आफूले आँट गर्न नसकेको खुलासा गरिन्। "निर्वाचन प्रणाली नबदलेसम्म प्रत्यक्षतर्फ महिला सहभागिता यस्तै रहन्छ," उनले भनिन्, "एउटा तयारीको कुरा हुन्छ, अर्को खर्चपर्चको। त्यसैले प्रत्यक्षमा महिला उम्मेदवारी बढाउने अवस्था अझै आइसकेको छैन।"
प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फका सांसदहरूलाई कमजोर ठान्ने प्रवृत्ति गलत भएको उनले बताइन्। देशभरका मतदाताले दिएको मतका आधारमा निर्वाचित हुने भएकाले समानुपातिक सांसदहरू प्रत्यक्ष निर्वाचितभन्दा कम नहुने उनको तर्क थियो।
उनले भनिन्, “देशभरका मान्छेले भोट दिएर आएको मान्छे किन सानो हुन्छ? एउटा निर्वाचन क्षेत्रमा लडेर आउने मान्छे ठूलो हुने र देशभरको मत पाउने मान्छे सानो हुने सोच गलत हो। हामीले कामलाई होइन, चुनावमा गरिएको खर्चलाई मापनको आधार बनायौँ, यो नै त्रुटिपूर्ण छ।”
उपाध्यक्ष घिमिरेले एक पटक समानुपातिक कोटाबाट सांसद भइसकेका व्यक्तिलाई पुनः सोही पदमा दोहोर्याउनु नहुने धारणा समेत राखिन्। उनले अवसरको समान वितरण हुनुपर्नेमा जोड दिँदै निर्वाचन प्रणालीलाई थप समावेशी र कम खर्चिलो बनाउनुपर्नेमा जोड दिइन्।