धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
574
Shares
काठमाडौँ। नबिल बैङ्क, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको छ। यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरू लाभान्वित हुने बैङ्कले जनाएको छ।
नबिल बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरेको हो। बैङ्कले यस प्रकारका शिविर धनगढीबाट सुरु गरी विभिन्न प्रदेशमा आयोजना गरिने समेत उल्लेख गरेको छ। बैङ्कका अनुसार पहिलो चरणमा धनगढीमा सुषमा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो। उक्त शिविरबाट १२० जनाभन्दा बढी लाभग्राही लाभान्वित हुने बैङ्कको अपेक्षा छ।
जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा पनि प्रदान गरिने बैङ्कले जनाएको छ। बैङ्कले शिविर सञ्चालन गर्नका लागि कीर्तिपुर अस्पतालअन्तर्गतको फेक्ट नेपाल र सुषमा कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरिरहेको छ।
शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, कपाल गुमाएकाहरू, हातका औँलाहरू टाँसिएकाहरू, हात र खुट्टामा पाँच वटाभन्दा बढी औँलाहरू टाँसिएकाहरू, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनु पर्ने अवस्था भएका तथा खुट्टाको पैतला भित्रतिर फर्किएकाहरूले निःशुल्क उपचार पाउनेछन्।
साथै जटिल समस्या भएका बिरामीलाई काठमाडौँको साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बैङ्कले जनाएको छ। जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरूलाई उपचार गरी उनीहरूको जीवनमा सुधार ल्याउने प्रयास स्वरूप शिविर आयोजना गरिएको बैङ्कको भनाइ छ।
सरकारी तथ्याङ्कअनुसार नेपालमा प्रत्येक वर्ष ५६ हजारको हाराहारीमा जलनसम्बन्धी घटना हुने गरेका छन्। जसमध्ये औसतमा दुई हजार एक सयको मृत्यु हुने गरेको छ। जलन दुर्घटनाबाट बाँच्ने अधिकांशमा जलेको भाग खुम्चिने वा टाँसिने समस्या देखिने गरेका छन्। जसका कारण पीडितहरूमा दीर्घकालीन अपाङ्गता निम्त्याउने जोखिम रहन्छ।
जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ। तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ। उपचारका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यता भएकाले आर्थिक रूपमा कमजोरहरूले उपचार नै नगर्ने देखिएको छ।
नबिल बैङ्क लिमिटेड नेपालको अग्रणी वाणिज्य बैङ्क हो। नबिल बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ। नबिल एसएसई मार्फत बैङ्कले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना मार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ।