arrow

ग्लोबल मनि विकमा नबिल बैङ्कद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
nabil-shree-sarbajanik-secondary-school,-chhatradev-march-2026.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले 'ग्लोबल मनी विक' अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ। यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई  वित्तीय साक्षरता प्रदान गरिएको बैङ्कले जनाएको छ।

विश्वव्यापी रूपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो। जसअन्तर्गत बैङ्कले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल बैङ्किङ, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरूलाई अभिमुखीकरण गराएको हो।

बैङ्कले विभिन्न शाखा कार्यालयमार्फत साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। अभियानअन्तर्गत कोसी प्रदेशका दुई हजार ६४, मधेस प्रदेशका एक हजार ३८१, बागमती प्रदेशका दुई हजार ६०८, गण्डकी प्रदेशका एक हजार २७८, लुम्बिनी प्रदेशका एक हजार ३३८, कर्णाली प्रदेशका एक हजार ५०४ र सुदूरपश्चिम प्रदेशका ९१४ विद्यार्थी लाभान्वित भएको बैङ्कले जनाएको छ।

वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैङ्कले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनि गर्दै आएको छ।

नबिल बैङ्क लिमिटेड नेपालको अग्रणी वाणिज्य बैङ्क हो। बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ। नबिल एसएसईमार्फत बैङ्कले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना र दिगो विकासमा योगदान पुर्‍याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ