स्याङ्जा । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा स्वयंसेवक परिचालन गरेको छ ।
जिल्लामा दुई निर्वाचन क्षेत्रअन्तर्गत ११ स्थानीय तहका ९७ वडा छन् । यसअघिका निर्वाचनमा हुँदै आएको बदर मत घटाउन स्वयंसेवकमार्फत गाउँगाउँमा मतदाता शिक्षा सञ्चालन गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले बदर मत घटाउन ९७ ओटै वडामा एक/एक जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।
“जिल्लाका ९७ ओटै वडामा मतदातालाई मतदान गर्ने तरिका सिकाउने गरी एक/एक जना स्वयंसेवक परिचालन गरेका छौँ,” उनले भने, “तोकिएका स्वयंसेवकले आआफ्नो वडाका टोल, समूह अथवा घरघरमै पुगेर मतदान गर्ने तरिकाबारे जानकारी दिनेछन् ।”
तोकिएका स्वयंसेवकले जिम्मेवारीअनुरुप कार्य गरे-नगरेको अनुगमनका लागि प्रत्येक स्थानीय तहमा एक/एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षालाई प्रभावकारी बनाउने काम भइरहेको कार्यालयले जनाएको छ ।
जिल्लामा यसअघिका निर्वाचनमा औसतमा चार प्रतिशत मत बदर हुने गरेको थियो । कार्यालय प्रमुख थापाले भने, “निर्वाचनमा चार प्रतिशतसम्म मत बदर हुनु भनेको ठूलो सङ्ख्या हो । त्यसैले गाउँ तथा टोलटोलमा नमूना मतपत्र, स्वस्तिक छापसहित खटिएका स्वयंसेवकले मतको सदुपयोग तथा सदर मतका लागि सहजीकरण गर्नेछन् । आशा गरौँ यसपटक बदर मत घट्ने छ ।”
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा करिब दुई हजार कर्मचारी तथा ९०० स्वयंसेवक खटिने छन् । यस्तै, जिल्लामा एक हजार ९४७ सुरक्षाकर्मी खटिने छन् ।
जिल्लामा एक सय ९९ मतदानस्थल र ३२२ मतदान केन्द्र छन् । पाँच सयभन्दा धेरै मतदाता भएका केन्द्रमा छ जना कर्मचारी र तीन जना स्वयंसेवक रहनेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।