arrow

शुभकामना कांग्रेस ! विजयी भव:

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ फागुन ९ शनिबार
rajendra-panthi-09-11-082.jpg (1).jpeg

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी देशभरि बढिरहेको छ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन/विद्रोहको कारण आवधिक रुपमा ८४ सालमा हुनुपर्ने निर्वाचन अप्रत्याशित रुपमा अहिले नै ८२ मा हुन गैरहेको छ । नेपाली जनताले नेपालका राजनीतिक नेतृत्वलाई बारम्बार सचेत गराउँदा, आक्रोश पोख्दा पनि नसुनेका कारण अति नै भएपछि जेन-जीहरू विद्रोहमा उत्रिन बाध्य भए । देशमा सुशासन, भ्रष्टाचारको अन्त्य,कानूनी राज्यको स्थापना र गुणस्तरीय सेवा प्रवाहको माग गर्दा जेन-जी आन्दोलनमा देशले ठूलो धनजनको क्षति बेहोर्नु पर्यो । जेन-जी आन्दोलनको कारण तत्कालीन एमालेको नेतृत्वको सरकार ढल्यो र प्रतिनिधि सभा पनि भङ्ग भएको थियो ।

लोकतन्त्रको सौन्दर्य भनेको निर्वाचन र मेरुदण्ड भनेको संसद नै हो । ०७९ को निर्वाचनबाट आएको संसद र सरकार असक्षम र असफल भएर ढलेपछि ताजा जनादेशको लागि २१ फागुनमा निर्वाचन हुन गएको हो । गत ०७९ को निर्वाचनमै पनि धेरैतिरबाट आलोचना र विरोध हुँदा नेपाली कांग्रेस र माओवादी जस्ता राजनीतिक दलहरूले एकआपसमा गठबन्धन र भागबण्डा नामको ठगबन्धन गरी निर्वाचनमा सहभागी हुँदा त्यो परिणाम सफल हुन नसकेको देखिन्छ । 

गत निर्वाचनमा विभिन्न राजनीतिक दलहरूले आ-आफ्ना सिद्धान्त, विचार, आस्था र मुद्दा भन्दा बाहिर गएर गठबन्धन र भागबण्डा गर्दा निर्वाचनको परिणामपछि पनि संसद र सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी जस्ता दलहरूले सत्ताको लागि सबै किसिमका नाङ्गा रूप देखाए । तीन वर्षको समयमा सत्ता प्राप्तिको लागि म्याजिक नम्बर, ज्योतिषको आशीर्वाद, दुई तिहाईको सरकार भन्नेजस्ता हौवा फिँजाएर अनेक किसिमका फोहरी खेलहरू खेलेर सत्ता टिकाउने काममात्र गरे ।

राजनीतिक दलहरूका आफ्ना दलगत स्वार्थका कारण देशका सम्पूर्ण अवयवहरू अत्यन्तै कमजोर भए। राज्य कमजोर र असफल हुँदा भदौ २४ गते त नेपाली जनता सरकारविहीन भए । राज्यविहीन नै हुने अवस्थामा पुगे। ०७९ सालकै निर्वाचनमा पुराना र असफल उम्मेदवारविरुद्ध 'नो, नट अगेन  र इनफ इज इनफ' भन्ने आवाज सञ्चार र संजालमा घन्किएका थिए । 

ती घन्किएका जन आवाजलाई सम्बन्धित दलहरूले सुन्न चाहेनन् र अहिले पनि कतिपयले सुनिरहेका छैनन् । नेपाली राजनीतिमा बारम्बार असफल भएका पात्र र प्रवृत्तिहरू संसदमा भित्रिँदा सत्ताका लागि सबै किसिमका प्रयोग गरिए । गत निर्वाचनमा नेपाली कांग्रेस, माओवादी लगायतका दलहरू गठबन्धन गरेर निर्वाचनमा सहभागी हुँदा थुप्रै विचार र बाटो नै नमिल्नेका बीचमा गठबन्धन गरिनु हुन्न भनेर आलोचना भए । 

पदीय र दलीय स्वार्थका कारण बनेको गठबन्धनले चुनावी परिणाम आएपछि जनताका अगाडि राखेका सम्पूर्ण प्रतिबद्धतालाई कुल्चेर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी र एमाले बीचमा सत्ता सहकार्यको नौटंकी भयो ।केही समयमै एमाले अलग्गिएर फेरि नेपाली कांग्रेस र माओवादी मिलेर प्रचण्डकै नेतृत्वमा सरकार बन्यो । त्यो पनि टिक्न सकेन । फेरि प्रचण्डकै नेतृत्वमा एमाले,माओवादी र रास्वपाको सत्ता सहकार्य भयो । त्यो पनि रातारात भत्कियो र अन्तिममा केपी शर्मा ओलीको नेतृत्वमा एमाले र कांग्रेसबीच करिब दुई तिहाईको बलियो भनिएको सरकार बन्यो । 

यो सरकार बकम्फुस गफ र व्यक्ति केन्द्रित राजनीतिमा सीमित भयो। यही सरकार रहँदै गर्दा जेन-जी आन्दोलन भयो र बलियो भनिएको सरकार भागाभाग भएर ढल्यो । त्यसपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अहिलेको अन्तरिम चुनावी सरकार बनेको हो ।

नयाँ संविधान निर्माणपछि अहिलेको चुनावी सरकारले तेस्रो संसदीय निर्वाचन गराउँदै छ । नियमित रुपमा ०८४ मा हुनुपर्ने निर्वाचन ०८२ मै हुँदैछ। राजनीतिक दलहरू विचारविहीन हुनु, दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास र प्रयोग नहुनु, टिके र पिछलग्गु प्रणालीलाई ग्राह्यता दिइनु, पार्टी नेतृत्वमा बा र भाउजूको संस्कृतिको विकास गरिनु, नातावाद र कृपावादलाई महत्त्व दिनु,नयाँ पिँढी र पुस्ताका कुरै नसुन्नु र अवसर नदिनु, जनतालाई सुशासन दिन नसक्नु, भ्रष्टाचारको बिगबिगी हुनु जस्ता कारणले पुराना पार्टीहरू कमजोर र अविश्वासिला भई सत्ता चलाउन असक्षम भएका कारण नयाँ पुस्तामा विद्रोहको चेत पैदा भएको हो ।

अब निर्वाचन मुखैमा आएको अवस्थामा यो पनि खत्तम र त्यो पनि खत्तम भनेर निकास निस्किन्न । यो देश बनाउने यही देशकै दलहरूले नै हो। पुरानोलाई सत्तोसराप गाली गरेर हावा,लोकरिझ्याईँ र भीडका पछाडिमात्र दौडदा पनि दीर्घकालीन समाधान पाउन गाह्रो छ । लोकतन्त्रमा विकल्प खोज्ने भनेको यहीँका दलहरूबाट नै हो । यतिबेला देशका विभिन्न राजनीतिक दलहरूमध्ये अलिकति आशाको दीप बनेर  इतिहास पुरानो भएको अहिले नयाँ बनेको नेपाली कांग्रेस चुनावी मैदानमा उत्साह र उमंगका साथ देखा परेको छ । 

गत ०७९ निर्वाचनकै कुरा गर्दा पनि नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी जम्मा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो तर जनमतको कदर गर्न नसक्दा र सत्ताको नेतृत्व गर्ने आँट गर्न नसकेको कारण आजको अस्थिर अवस्था आएको हो पनि भन्न सकिन्छ । सत्ता सहकार्यमा टाउको बन्नुपर्ने कांग्रेस कहिले माओवादी र कहिले एमालेको पुच्छर मात्र बन्यो । 

कांग्रेस सत्ता सहकार्यमा पनि सबै किसिमको खेलमा रमिते भयो । ०७९ को निर्वाचनमा पनि देशको पुरानो दल कांग्रेसले केवल सत्ता प्राप्तिको लागि निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षमा जम्मा ८३ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएर आफ्ना कार्यकर्तालाई नेपाली कांग्रेस-जिन्दावाद,भोट के मा ? हँसिया हथौडा/ कलम/ गिलास आदिमा हाल्न बाध्यता गरायो ।

अघिल्लो चुनावी गठबन्धनले कांग्रेस वैचारिक र सांगठनिक रुपमा अत्यन्तै कमजोर र कमसल भयो । कांग्रेस जस्तो लामो इतिहास भएको पार्टीले पटकपटक आफ्ना कार्यकर्तालाई आफ्नो पार्टीभन्दा भिन्न दललाई मतदान गर्न लगाएर आफ्नो वैचारिक अस्तित्व र सांगठनिक आधार गुमाउँदै गयो । कांग्रेस कहिले प्रचण्ड र कहिले ओलीका पछाडि लाग्दा चलायमान हुन सकेन। 

कांग्रेसका केन्द्रीय नेतृत्वहरू आफ्ना मूल्यमान्यता,विचार, सिद्धान्त, संगठन, कार्यकर्ता र जनता बिर्सेर केवल प्रचण्ड र ओलीका एसमेन जस्ता भए । तत्कालीन सभापति शेरबहादुर देउवा त छैटौँ पटक प्रधानमन्त्री हुने भन्ने सपनामै रमाए । देउवाले जनमतलाई अनादर गरी  जवाफदेही र जिम्मेवार नहुँदा भदौ २४ को विध्वंशमा ठूलो क्षति पनि बेहोर्नु पर्यो । आजको कांग्रेस भने विगतका यी कमजोरीबाट शिक्षा ग्रहण गरी आत्मसमीक्षा गर्दै झट्ट पहिलो मुहार हेर्दा बदलिएको देखिन्छ । बाँकी कुराहरू त विश्वास गरेर काम र परिणाम पर्खिनुको विकल्प केही छैन ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन र विद्रोहपछि तत्कालीन संस्थापनइतर नेपाली कांग्रेसका युवा पुस्तामा अब पार्टीलाई जबर्जस्त भए पनि पुन:निर्माण गर्नुपर्छ भन्ने विद्रोहको चेत पैदा भयो । कांग्रेसका तत्कालीन महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले नीति र नेतृत्व परिवर्तन नगरेसम्म निर्वाचनमा जान नसक्ने अठोट गरी विशेष महाधिवेशनको अगुवाइ गरे । 

तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशनलाई सम्बोधन नगरेपछि महामन्त्रीद्वयको अगुवाइमा पुस २७-३० गते विधिवत रूपमा विशेष महाधिवेशन सम्पन्न पनि भयो। विशेष महाधिवेशनबाट कांग्रेसको नीति र नेतृत्व परिवर्तन भई सभापति गगन थापाको नेतृत्वमा कांग्रेस बदलिएर आएको देखिन्छ । कांग्रेस सैद्धान्तिक र चारित्रिक रूपमा कति बदलिन्छ र देशलाई कसरी बदल्छ त्यो त हेर्दै जानुपर्छ ।

अहिलेको लागि पहिलो मुहार भने बदलिएको छ। बाँकी कुराहरू आजको भोलि नै परिणाम देखिने कुरा होइनन् । नवनिर्वाचित सभापति गगन थापाले १३ औँ महाधिवेशनदेखि नै कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको मुद्दा उठाई कांग्रेसलाई बदल्नु पर्ने भन्दै विद्रोह गर्दै आएका थिए । अन्ततः अहिलेको विशेष महाधिवेशनमा सफल भए । निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले विशेष महाधिवेशनलाई अझैसम्म सहज रूपमा स्वीकार्न सकेको छैन ।

यद्यपि देउवा गुटका केही नेताहरू गगन थापाको नेतृत्वको चुनावी प्रतिस्पर्धामा सामेल भएका भने छन् । अहिले निर्वाचनका कारण चुप बसेका देउवाका कृपाहरू पानी बिनाका माछा जस्ता चाहिँ भएका देखिन्छन् । अदालतमा परेको मुद्दाबाट थाहा हुन्छ कि  बदलिएको कांग्रेसले नेपाली कांग्रेस एक भयो भने पनि कांग्रेसभित्र तुस बाँकी नै देखिन्छ । अब सभापति थापाले पुराना सबै कुरालाई बिर्सेर प्रतिशोध बिना कांग्रेसलाई एक गराउनुपर्छ । थापाले अरु कसैलाई दोष दिएर उम्कने ठाउँ छैन । सभापति गगन थापाले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा सशक्त र बलियो बनाई गुटबन्दीको अन्त्य गरी एक ढिक्का बनाउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी छ ।

कांग्रेसको १४ औँ महाधिवेशनमा अत्यधिक मतसहित महामन्त्रीमा विजय भएका गगन थापाले कांग्रेसभित्रको शेरबहादुर देउवाको गुटबन्दीलाई चिर्न अनेक प्रयत्न गरे तर समयमै नियमित महाधिवेशन गर्न सकेनन् । विगत ४ वर्षमा गगन थापाको सांगठनिक कार्यशैलीप्रति पनि थुप्रै आरोप लगाइएका छन् र प्रश्नहरू पनि उठेका छन् । विशेष महाधिवेशन मार्फत भए पनिअहिलेको गगन थापाले नेपाली कांग्रेस भित्रको निवर्तमान सभापति  देउवाको एकाधिकार,गुटबन्दी र जन्जिरलाई भत्काउन भने सफल भए । 

कांग्रेस विशेष महाधिवेशन मार्फत नयाँ नीति र नेतृत्वसहित बदलिएर अहिले जनतामाझ आफ्ना प्रत्यक्ष र समानुपातिक गरी २७५ उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएको छ । यतिबेला कांग्रेसमा नयाँ जोश,जाँगर र उमंग देखिन्छ। कांग्रेसले फागुन २१ गतेको निर्वाचनको लागि चुनावी टिकट प्रणाली पनि सुधारेको देखिन्छ । कांग्रेसले टिकट बिक्री गर्ने प्रणालीलाई बन्द गरेको छ भनिन्छ । अहिले प्रत्यक्षतर्फ १६५ मध्ये १०६ जना नयाँ अनुहारहरू चुनावी मैदानमा उतारेको पनि छ ।

यतिबेला कांग्रेस र सभापति गगन थापालाई चुनौती र अवसर दुवै छन् । विशेष महाधिवेशन मार्फत बदलिएर आएको र अब देशलाई बदल्छौँ भन्ने कांग्रेसले आफ्ना विगतका कमीकमजोरी र गल्तीहरूको आत्मसमीक्षा गर्दै मतदातासँग नपुगेसम्म मत पाउन गाह्रो छ । कांग्रेस नयाँ भएर २.० भएको कुरा एजेन्डासहित जनतालाई विश्वास दिलाउनुपर्छ । हुनत कांग्रेसको प्रतिज्ञापत्रलाई अहिलेसम्मकै उत्कृष्ट भन्दै वामपन्थी विचारधाराका व्यक्तिहरूलेसमेत सामाजिक सञ्जालमा लेखेको देखिन्छ । 

आज चुनावी मैदानमा नयाँ र पुरानो भन्नेका बीचमा मुख्य बहस चलिरहेको अवस्थामा कांग्रेसले आफू यो देशको सबैभन्दा पुरानो,अनुभवी र परिपक्व अनि विचार,एजेन्डा र वैधानिक दृष्टिकोणले सबैभन्दा नयाँ हौँ भन्ने कुरालाई खासगरी नवयुवाका बीचमा गई भरोसा दिलाउनुपर्छ र कांग्रेसमा रहेको परम्परित संरचनात्मक ढाँचा ढलेर नयाँ र आधुनिक बन्यो भन्ने कुरा जनतालाई विश्वस्त तुल्याउनुपर्छ अनि कांग्रेसभित्रको फोहरलाई सफा गर्ने संकल्प गर्नुपर्छ ।  

नेपाली कांग्रेसको संसदीय इतिहासलाई हेर्दा कांग्रेस कमजोर र सानो पार्टी हैन । २०१५ सालमा भएको नेपाली इतिहासकै पहिलो संसदीय निर्वाचनमा १०९ निर्वाचन क्षेत्रमध्ये ७४ स्थानमा विजयी भई एक्लैले दुई तिहाई सरकार बनाएको थियो । ४४ वर्षीय बीपी कोइराला देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । राजा महेन्द्रले २०१७ साल पुस १ गते आफ्नो विशेष अधिकार प्रयोग गरी तत्कालीन संविधान र बीपी कोइरालाको सरकारलाई  १८ महिनामै भङ्ग गरेका थिए । 

२०१७ देखि २०४६ सालसम्म राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाई राजाको प्रत्यक्ष शासनमा पञ्चायती व्यवस्था चलेको थियो ।२०४६ सालको बहुदलीय प्रजातन्त्रको पुन:स्थापनापछि अहिलेसम्म आउँदा सात ओटा निर्वाचन भएका छन् । २०४८ सालको संसदीय निर्वाचनमा देशका २०५ निर्वाचन क्षेत्रहरूमध्ये कांग्रेसले ११० स्थानमा विजय प्राप्त गरी स्पष्ट बहुमत ल्याएको थियो । 

नेपाली कांग्रेसभित्रकै विवाद,अविश्वास र कचिंगलले गर्दा २०५१ मा भएको निर्वाचनमा कांग्रेस पहिलेभन्दा २७ कम लिई ८३ सिटमा मात्र सीमित भयो । संसदीय इतिहासमा यसबेला अत्यन्तै फोहरी खेलहरू भए । २०५६ को निर्वाचन भने नेपाली कांग्रेसले १११ सिट सहित सुविधाजनक बहुमत ल्याएको थियो । 

२०५६ साको निर्वाचनमा प्रधानमन्त्रीका रूपमा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई अगाडि सारेर चुनावी प्रतिस्पर्धामा बहुमत ल्याएको कांग्रेसले २०५६ चैत ३ मा करिब १० महिनामै प्रधानमन्त्री पदबाट कृष्णप्रसाद भट्टराईलाई राजीनामा दिन बाध्य तुल्यायो । कांग्रेसको आन्तरिक कलहले पार्टी नै पनि फुट्यो । यस कार्यकालमा कांग्रेसभित्र सबै किसिमका फोहरी र अराजनीतिक खेलहरू भए । वास्तवमा विगतका ती दागहरूले कांग्रेस अझै सफा हुन सकेको छैन । जबसम्म अबको नयाँ कांग्रेसले देशलाई बदल्न सक्दैन तवसम्म त्यो विगतको फोहरी खेलको इतिहास बिर्सिन गाह्रो हुन्छ । अब बदलिएको कांग्रेसले विगतमा गरिएका जेजस्ता कमीकमजोरी थिए,ती सबैलाई सुधार्नुपर्छ । 

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा ६०१ सदस्यमा कांग्रेसले प्रत्यक्षमा ३७, समानुपातिकमा ७३ र मनोनीत गरी ११५ सिट ल्याएको थियो । त्यस निर्वाचनमा नेकपा माओवादी पहिलो र नेपाली कांग्रेस दोस्रो भएका थिए । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा भने कांग्रेसले प्रत्यक्षमा १०५ र समानुपातिकमा ९१ गरी पहिलो दल बनेको थियो । नयाँ संविधान अनुसार २०७४ सालको निर्वाचनमा देशभरमा प्रत्यक्ष र समानुपातिकतर्फ २७५ सिटमध्ये कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकमा ४० सिट प्राप्त गरेको थियो । त्यो निर्वाचनमा एमाले र माओवादी एक भई नेकपा गठन गरी निर्वाचनमा सहभागी भएका थिए । २७५ सिटमा नेकपाले १७४ सिट लिई पहिलो भएको थियो भने कांग्रेस दोस्रो दल बनेको थियो । 

०७९ सालको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट ल्याई पहिलो दल बनेको थियो । यो निर्वाचनमा कांग्रेस,नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी)  राष्ट्रिय जनमोर्चा गठबन्धन गरी  चुनावी प्रतिस्पर्धामा थिए। यस निर्वाचनमा कांग्रेस पहिलो, 
नेकपा(एमाले) दोस्रो,नेकपा (माओवादी केन्द्र) तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो भएको थियो । 

सात ओटा निर्वाचनमा कांग्रेस चार पटक,एमाले दुई पटक र माओवादी एक पटक पहिलो दल बनेको छ । २०४८ साल यता सात ओटा निर्वाचन हुँदा कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँच वर्षको कार्यकाल पूरा गर्न सकेनन् । नेपालमा पछिल्लो ३५ वर्षमा २७ जना प्रधानमन्त्री बने । ३५ वर्षमा १६ वर्ष नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्यो । 

कांग्रेसको संसदीय इतिहासलाई सरसर्ती हेर्दा नेपाली कांग्रेस पटक पटक स्पष्ट बहुमतसहित पहिलो दल बनेको इतिहास छ । २०१५,२०४८ र २०५६ को निर्वाचनमा कांग्रेसमा जुन उत्साह,आशा र विश्वास थियो, त्यो आज आउँदासम्म क्रमशः घट्दै गएको देखिन्छ । जनताले विश्वास गरेर पटक पटक संसदमा ठूलो दल बनाउँदा  दलभित्रको आन्तरिक कलह, गुटबन्दी र सत्ता स्वार्थका कारणले २०७९ सम्मको निर्वाचनमा आउँदा कांग्रेस वैचारिक र सांगठनिक रूपमा अत्यन्तै कमजोर हुँदै गएको देखिन्छ । 

अब साँच्चै कांग्रेसले आफूलाई नेपाली जनतामाझ विश्वासिलो र भरोसायोग्य बनाउने हो भने नेतादेखि कार्यकर्तासम्मले आफ्नो शैली र व्यवहारलाई परिवर्तन गर्नुपर्छ । नेपाली कांग्रेसले जनताको मन जित्न अहिले देखिएको नेता र जनता बीचको दूरीलाई घटाई आफ्ना प्रतिज्ञापत्रमा प्रस्तुत गरिएका भिजन-१० का प्रतिज्ञा पूरा गर्ने प्रतिबद्धता लगायतका जनताका आधारभूत आवश्यकतादेखि देशको विकास,सुशासन,सेवा प्रवाहमा उत्तरदायी र जवाफदेही बन्नुपर्छ । खासमा भन्नुपर्दा नेपाली कांगेसले विगतका दिनमा केवल सत्ताको लागिमात्र म्युजिकल चेयरमा घुम्दा जनाधार र मताधार गुमाउँदै गएको कुरालाई स्वीकार्नुपर्छ।

अहिले बेहोशबाट होशमा आएझैँ गरी छोटो समयमै पनि नेपाली कांग्रेस देशभर चलायमान भएको देखिएको छ। आज नेपाली कांग्रेसले गगन थापाको नेतृत्वमा मध्यमार्गी बाटो अपनाएर निकै शालीनताका साथ पुराना कमजोरी स्वीकारेर चुनावी मैदानमा उत्रिएको पनि छ । कांग्रेसले जेन-जीका मागलाई समेत सम्बोधन गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएर मतदाताका बीचमा केही आशावादी सन्देश फैलाइरहेको पनि देखिन्छ ।

नेपाली कांग्रेसको देशभरि गाउँ शहर जताततै र विदेशमा समेत विशाल संगठन छ । कांग्रेसले आफ्नो देशविदेशको त्यो संगठनलाई उत्साह र उमंगका साथ चलायमान गराउन सक्ने हो भने आगामी निर्वाचनमा एक सय भन्दा बढी सिट विजय गर्न त्यति गाह्रो देखिँदैन । २०७९ को निर्वाचनमै पनि नेपाली कांग्रेसले समानुपातिक निर्वाचनमा २६ प्रतिशत अर्थात २७ लाख मत प्राप्त गरेको थियो । 

कांग्रेसले अन्य दलसँग गठबन्धन गर्दा १६५ क्षेत्रमध्ये ८३ क्षेत्रमा उम्मेदवार उठाएर ५७ सिट त विजयी हासिल गरेको थियो । कांग्रेसले पुरानो आफूले जितेका क्षेत्रहरू सुरक्षित राखेर अहिले एमाले र माओवादी कमजोर भएको मौकामा उपविजेता भएका २२ क्षेत्रहरूलाई पनि जित्न सक्ने हो भने सोझो हिसाबमै पनि प्रत्यक्षमा मात्र एकसय बढी  सिट जित्ने सम्भावना देखिन्छ ।

कांगेसले यो निर्वाचनमा नयाँ थपिएका करिब १० लाख मतदाताको मन जित्न विशेष ख्याल राख्नुपर्छ । निर्वाचन आयोगका अनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि तयार पारिएको अन्तिम मतदातामा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिक १ करोड ८९ लाख ६८९ जना रहेका छन् । 

अघिल्लो निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो । त्यसैलाई आधार मान्दा पनि आगामी निर्वाचनमा करिब १ करोड १७ लाख १८ हजार मत खस्ने अनुमान गर्न सकिन्छ । यसमा पनि करिब ५ प्रतिशत बदर हुँदा करिब सदर मत १ करोड ११ लाख ३२ हजार हुने अनुमान गर्न सकिन्छ । यस निर्वाचनमा देशका ठूला पार्टीहरू नेपाली कांग्रेस,नेकपा (एमाले),नेपाली कम्युनिस्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत ६८ दलहरू चुनावी प्रतिस्पर्धामा छन् । यस निर्वाचनमा जम्मा २७५ जनप्रतिनिधिका लागि विभिन्न  दलका र स्वतन्त्र गरी प्रत्यक्ष र समानुपातिकतर्फ करिब ६५ सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसले नव निर्वाचित सभापति गगन थापालाई अबको प्रस्तावित प्रधानमन्त्रीको रुपमा अगाडि सारी अबकी बार गगन सरकार र अबकी बार सय पार भन्दै चुनावी मैदानमा होमिएको देखिन्छ । नेपाली कांग्रेसले जनताको घर आँगनमा गई आफ्नो विचार र एजेन्डा प्रस्तुत गरी संजालीय र सञ्चारीय हावा,लहड र आक्रोशलाई चिर्न सक्यो भने गगन प्रधानमन्त्री बन्ने र सय पार भन्ने कुरा असम्भव छैन । 

अहिले भदौ २३ र २४ को घटनाले गर्दा कांग्रेसको एक प्रमुख प्रतिस्पर्धी एमालेको जनमाहोल अत्यन्तै कमजोर देखिन्छ भने अर्को शक्ति प्रचण्डको नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी सांगठनिक रुपमा निकै कमजोर रक्षात्मक हुनाले पनि कांग्रेसलाई एक सय पार गराउन त्यति गाह्रो छैन । 

अहिलेको अर्को एक मुख्य नयाँ र वैकल्पिक राजनीतिक शक्ति रास्वपाको चुनावी डिजिटल माहोल अत्यन्तै फराकिलो देखिन्छ । रास्वपाले पहिले विजय गरेका क्षेत्रहरू केही कमजोर देखिन्छन् । अहिले रास्वपा पक्षमा देखिएको यो हावाहुरी भनेको पुराना पार्टीका विरुद्धको आक्रोशको भेल हो । यदि नेपाली कांग्रेस शालीन र संयमित भएर आफ्ना मूल्यमान्यता र विश्वासिला एजेन्डाहरू अघि सारी नवयुवा पुस्तालाई विश्वास दिलाई तिनीहरूको आक्रोशलाई निभाउन सक्ने हो भने अहिलेको नयाँ वा वैकल्पिक भनिने तिर बहेको धेरै डिजिटल र थोरै फिजिकल माहोल कांग्रेसतिर फर्कन सक्ने सम्भावना पनि देखिन्छ ।

नेपाली कांग्रेसले छोटो समयमा धेरै काम भने गर्नुपर्छ । अहिलेको पिँढीले बीपी, कृष्णप्रसाद, गणेशमान, गिरिजा आदिका मात्र सैद्धान्तिक कुरा सुनेर कांग्रेसलाई विश्वास गर्ने पक्षमा भने छैनन् । अहिलेको कांग्रेसले आफ्नो इतिहास र योगदानमा गर्व गर्दै र विगतका गल्ती र कमजोरीलाई आत्मसमीक्षा गरी आफ्ना एजेन्डासहित जनताको विश्वास जित्नुपर्छ।अहिले बदलिएको नेपाली कांग्रेस नेपालको पुरानो र जिम्मेवार राजनीतिक दल हुनाले पनि अहिलेको देशको विषम र जटिल परिस्थितिमा राज्यको नेतृत्व सम्हाल्न सक्ने सामर्थ्य र भरोसा यसैमा देखिन्छ । अब बदलिएको नेपाली कांग्रेसले देशलाई बदलोस् । नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा सय पारको लागि शुभकामना !विजयी भव: (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)        
   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ