मतदातालाई विश्वास गर्न अजयबाबुको आग्रहः विचार र नेतृत्वको हिसाबले वास्तविक नयाँ पार्टी कांग्रेस नै हो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
754
Shares
दोलखा । नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विचार, नीति र नेतृत्वका आधारमा नेपाली कांग्रेस नै देशको वास्तविक 'नयाँ' पार्टी भएको दाबी गरेका छन् ।
चुनावी अभियानका क्रममा दोलखाको विगु गाउँपालिका पुगेका शिवाकोटीले पछिल्लो राजनीतिक बहस र परिवर्तनको सन्दर्भमा यस्तो धारणा राखेका हुन् । विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चयन गरेको उल्लेख गर्दै उनले अहिले पार्टी गगन थापाको ऊर्जाशील नेतृत्वमा देशभर चुनावी अभियानमा होमिएको बताए ।
शिवाकोटीले परिवर्तनको लहरलाई आत्मसात् गर्दै कांग्रेसले यस पटक ७८ प्रतिशत नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको जानकारी दिँदै आफूहरू नयाँ सोचका साथ जनताको घरदैलोमा आइपुगेको स्पष्ट पारे ।
पछिल्लो समय युवा पुस्ता (जेन-जी) को आन्दोलनपछि राजनीतिमा नयाँ र पुरानो शक्तिको बहस चलेकोतर्फ सङ्केत गर्दै उनले भने, “विचार, नीति, नेतृत्व र उम्मेदवारको कसीमा घोटेर हेर्ने हो भने नेपाली कांग्रेस मात्रै नयाँ पार्टी हो । बाहिरबाट हेर्दा एमाले, नेकपा माओवादी वा रास्वपामा देखिएका अनुहारहरूमात्र नयाँ हुन्, तर पार्टीको पद्धति र उम्मेदवारको विविधताका हिसाबले कांग्रेसले मात्रै आमूल परिवर्तनको बाटो समातेको छ ।”
शिवाकोटीले अन्य दलहरूले 'नयाँ' को नारा दिए पनि वास्तविक परिवर्तन र नयाँपनको प्रतिनिधित्व कांग्रेसले नै गरेको दाबी गरे । उनले दोलखाको विकास र समृद्धिका लागि कांग्रेसको यो नयाँ टिमलाई विश्वास गर्न मतदाताहरूलाई आग्रहसमेत गरेका छन् ।