स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको सञ्चालक समितिमा विवाद, गोयलले दिए लगानीकर्तालाई चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
715
Shares
काठमाडौँ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको सञ्चालक समितिमा विवाद चर्किएको छ ।
कम्पनीका पूर्वअध्यक्ष श्रवणकुमार गोयलले सञ्चार माध्यममा सार्वजनिक गरेको आरोपपत्र अनुसार कम्पनीका केही सञ्चालक तथा प्रबन्ध निर्देशकहरूले कम्पनीको निर्णयविना सर्वसाधारणबाट अन्धाधुन्ध पैसा उठाएको, आय-व्यय पारदर्शी नराखेको, बैठक नम्बर उल्लेख नगरी पछिल्लो मिति राखेर निर्णय लिएको र कम्पनीको हितविपरीतका कार्यहरू गरेको पाइएको छ ।
गोयलका अनुसार, उनी कम्पनीमा लगानी गरी अध्यक्षमा नियुक्ति भए पनि फाइनान्सियल क्लोजर पूरा भएपछि सञ्चालकहरूले आफ्नो सल्लाहबिना निर्णय लिन थालेका थिए ।
‘कम्पनीको हितविपरीतका यस्ता गैरकानूनी कार्य नगर्न पटक-पटक अनुरोध गर्दा पनि बेवास्ता भयो,’ उनले भने ।
उक्त परिस्थितिमा उनले कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गर्दै कम्पनी ऐन, २०६३ को दफा १७८ अनुसार कारबाहीको माग गरेका छन् ।
गोयलले आफूलाई जबरजस्ती अध्यक्ष पदबाट हटाइएको आरोप पनि लगाएका छन् । उनले थप चेतावनी दिएका छन् कि,‘म बैंक तथा वित्तीय संस्थालाई दिएको व्यक्तिगत जमानीका आधारमा कम्पनीलाई ऋण प्रवाह नगर्न अनुरोध गर्दछु । मेरो नाम लिएर कुनै लगानी भएमा त्यसको लागि म जिम्मेवार हुने छैन ।’
गोयलले लगानीकर्तालाई विशेष सचेत रहन अनुरोध गर्दै भनेका छन् कि कम्पनीमा चरम विवाद विद्यमान रहेकाले आफ्नो नामको प्रयोग गरेर लगानी नगर्नुहोस् ।
यस विवादले कम्पनीको सञ्चालक समितिमा गम्भीर तनाव उत्पन्न भएको छ र आगामी कदमहरू कसरी हुनेछन् भन्ने विषयमा लगानीकर्ता तथा सम्बन्धित पक्षहरू चासोमा छन् ।