अष्ट्रेलियाको विश्वकप यात्रामा श्रीलङ्काको पूर्णविराम, इङ्गल्याण्ड पनि 'सुपर एट'मा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
839
Shares
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै श्रीलङ्का 'सुपर एट' मा प्रवेश गरेको छ। सोमबार राति भएको रोमाञ्चक खेलमा श्रीलङ्काले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्यो।
अष्ट्रेलियाले दिएको १८२ रनको बलियो लक्ष्यलाई श्रीलङ्काले मात्र २ विकेट गुमाएर १८ ओभरमै पूरा गर्यो। श्रीलङ्काको जितमा प्रारम्भिक ब्याटर पथुम निसानकाले आक्रामक शतकीय पारी खेले। उनले मात्र ५२ बलमा अविजित १०० रन बनाए। उनलाई कुसल मेन्डिसले ५१ रन जोड्दै राम्रो साथ दिए।
त्यसअघि श्रीलङ्काको पल्लेकलेमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले १८१ रन बनाएको थियो। अष्ट्रेलियाका लागि ट्राभिस हेडले ५६ र कप्तान मिशेल मार्शले ५४ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। समूह ‘सी’ मा लगातार ३ खेल जित्दै ६ अङ्कका साथ श्रीलङ्का शीर्ष स्थानमा छ।
यस्तै, अर्को खेलमा इटालीलाई २४ रनले पराजित गर्दै इङ्गल्याण्ड पनि 'सुपर एट' मा पुग्न सफल भएको छ। भारतको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको इङ्गल्याण्डले ७ विकेट गुमाएर २०२ रनको विशाल योगफल तयार पारेको थियो।
२०३ रनको लक्ष्य पछ्याएको इटालीले कडा चुनौती दिए पनि १७८ रनमा अलआउट भयो। यो जितसँगै इङ्गल्याण्डले पनि आफ्नो 'सुपर एट' को यात्रा सुरक्षित गरेको छ।