बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै, हातहातै पैसा बाँड्न नपाइने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
644
Shares
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाको खातामार्फत मात्र गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारहरूले धमाधम खाता खोल्न थालेका छन्। राजनीतिक दल र उम्मेदवारले चुनावी प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने नियम अनुसार हालसम्म ६७१ जना उम्मेदवारले खाता खोलिसकेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रत्यक्षतर्फका कुल ३ हजार ४०६ उम्मेदवारमध्ये हालसम्म ६७१ जनाले बैंक खाता खोलेको सूचना प्रणालीमा प्राप्त भएको जानकारी दिए। अघिल्ला निर्वाचनहरूमा अनिवार्य नगरिएको यो व्यवस्था यस वर्षदेखि कडाइका साथ लागू गरिएको हो। बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने विश्वास आयोगले लिएको छ।
आयोगले भौगोलिक आधारमा उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ। आर्थिक अनुशासन कायम गर्न यस्तो व्यवस्था गरिएको आयोगका सचिव कृष्णबहादुर राउतले बताए। उनका अनुसार कालीकोट जस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले खाता खोलिसक्दा सुगम जिल्लाका धेरै उम्मेदवारले भने अझै खाता खोल्न बाँकी छ।
नेपाल राष्ट्र बैंकका अनुसार ७५३ वटै स्थानीय तहमा बैंकका शाखाहरू पुगिसकेका छन्। उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढीको जुनसुकै खर्च पनि बैंक खातामार्फत नै गर्नुपर्ने नियम छ। आयोगले सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल समेत गरेको छ। सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब हातहातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने र त्यसका लागि छुट्टै निर्देशिका समेत बनाइएको बताए।