तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाखको सुन्तला बिक्री गरे ।
जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तला खेतीबाट सन्तुष्ट छन् ।
गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती शुरू गरेका थिए ।
सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने गरेको बताउँदै उनले बजारमा समस्या नरहेको सुनाए।
यसैगरी, व्यास नगरपालिका-१३ बेनीकोटका कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरे।
अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन लाखको सुन्तला बिक्री भएको उनले बताए ।
विदेशबाट फर्किएर सुन्तला खेतीमा लागेका गिरबहादुरले यस वर्ष रु तीन लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए ।
यी त केही उदाहरण हुन्, तनहुँका कृषकले यस वर्ष रु ४५ करोड ५० लाखको सुन्तला बिक्री गरेका छन् । गत वर्ष यहाँका किसानल ४२ करोड ५० लाखको सुन्तला बिक्री गरेका थिए ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले यस वर्ष ५८२१.९ मेट्रिकटन सुन्तला बिक्री भएको जानकारी दिए ।
उनका अनुसार यस वर्ष ११८२१.७ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा १६७० हेक्टर सुन्तलाखेतीको क्षेत्रफल रहेकामा ९७७ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको परियारले जानकारी दिए ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यतिबेला तीन हजार ७५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तलाखेतीतर्फ आकर्षण बढेसँगै सुन्तला उत्पादनमा वृद्धि भएको परियारको भनाइ छ ।
तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् ।
सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् ।
काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ ।
जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । रासस