arrow

नेपाली सेनाको २६३ औँ स्थापना दिवस आज

वीरताको गौरवशाली इतिहास र शान्ति स्थापनामा विश्वव्यापी छवि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
army-day.jpg

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध गौरवमय कार्यक्रमहरू आयोजना गरी मनाउँदै छ। महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउने परम्परा अनुसार आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिँदैछ।

सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा शिवरात्रि बढाइँ, आकर्षक परेड, तोप बढाइँ र विभिन्न सैनिक कलाहरू प्रदर्शन गरिनेछ। जङ्गी अड्डाका साथै देशभरका पृतना, बाहिनी र कुटनीतिक नियोगहरूमा पनि हर्षोल्लासका साथ यो दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।

सन् १८१९ देखि सुरु भएको नेपाली सेनाको साङ्गठनिक स्वरूपले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा उदाहरणीय काम गर्दै आएको छ। देशभक्ति र अनुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने भएकाले नै आम नागरिकका बीचमा सेनाले विश्वासको अटल छाप छोड्न सफल भएको छ।

वीर पुर्खाहरूको बलिदानबाट आर्जेको राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी मात्र नभई यसको उच्च संस्कार पनि हो। पछिल्लो समय सेनामा समावेशिता र महिलाहरूको उल्लेखनीय सहभागिताले यस सङ्गठनलाई अझ आधुनिक र समावेशी बनाएको छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली सेनाले एक भरपर्दो र विश्वसनीय फौजको छवि बनाएको छ। सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनाले हालसम्म ४४ वटा मिसनमा रहेर एक लाख ६२ हजारभन्दा बढी सैनिक परिचालन गरिसकेको छ।

यस महान् कार्यमा खटिएका ७४ सैनिकले आफ्नो जीवनको बलिदान दिइसकेका छन्। हाल विश्वका विभिन्न १० मिसनमा ४ हजार ३ सयभन्दा बढी नेपाली शान्ति सैनिकहरू परिचालित छन्। विश्वका शक्तिशाली मुलुकका सैनिकहरूका लागि समेत नेपालको सैनिक शिक्षालय र स्टाफ कलेजहरू पेसागत दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेका छन्।

मुलुकको सुरक्षाका अतिरिक्त नेपाली सेनाले विपद् व्यवस्थापन, ऐतिहासिक गढी र सम्पदाको संरक्षण तथा सडक पूर्वाधार निर्माणमा पनि ठूलो योगदान पुर्‍याउँदै आएको छ।

राष्ट्रिय गौरवको आयोजना 'काठमाडौँ–तराई मधेश द्रुतमार्ग' को व्यवस्थापन गरिरहेको सेनाले हिमाल सफाइदेखि विकास निर्माणका कार्यमार्फत नागरिकसँगको सम्बन्धलाई मजबुत बनाएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन समेत सेनाले एकीकृत सुरक्षा योजनाको नेतृत्व सम्हालिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ